असोज ६,काठमाडौँ । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिए । उनका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो ।
सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ नौ हजार नौ सय ९९ किशोरीलाई लगाउने लक्ष्य राखेकोमा अहिलेसम्म छ हजार चार सय ४२ किशोरीले खोप लगाइसकेका डा गौतमले जानकारी दिए ।
यही भदौ २७ गते सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप ‘डेमोस्ट्रेसन’का रुपमा सञ्चालन गरिएको छ । खोपको पहिलो मात्रा अहिले र दोस्रो मात्राछ महिनापछि दिइनेछ ।
एचपिभी खोप दुई मात्रा लगाए पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमणबाट ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने डा.गौतमले बताए । यसअघि सरकारले सन् २०१६ र १७ मा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।



