असोज २५,हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हेटौंडा अस्पातललाई प्रदेशकै उत्कृष्ट अस्पतालका रुपमा विकास गरिने बताएकाछन् ।
हेटौंडा अस्पतालमा २५ शय्या क्षमताको मनोचिकित्सा वार्डको उद्घाटन गर्दै मन्त्री जोशीले उक्त कुरा बताएका हुन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालले बिहीबारबाट मानसिक रोगबाट प्रभावित बिरामीहरुको उपचारार्थ मनोचिकित्सा वार्ड सञ्चालन गरेको हो।
‘अब आजबाट महङ्गोे मुल्यमा हेटौंडाका निजी मेडिकलहरुमा मानसिक रोग लागेका बिरामीहरुको उपचार गर्नुपर्ने समस्या हटेको छ ।’ प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले भने । पहिले देखिनै अस्पतालमा ओपीडीमा मानसीक समस्या भएका बिरामीहरुको उपचार गरिदै आएको भएपनि अब भने भर्नानै गरेर उपचार गर्न सुरुवात गरिएको प्रसाईले बताए।
अस्पतालको पुरानो भवनमा महिला र पुरुषलाई छुट्टाछुट्टै राख्न मिल्ने गरी मनोचिकित्सा वार्ड सञ्चालनमा ल्याइको हो ।
अस्पतालले गत असारबाट नै एक जना मनोरोग विशेषज्ञ नियुक्त गरी ओपीडी सेवा संचालन गर्दै आएको थियो । वार्ड सञ्चालनका लागि एक जना विशेषज्ञ चिकिकित्सक नियुक्त भइसकेको र थप एक जना विशेषज्ञ चिकित्सकका लागि आवेदन खुला गरिएको छ । वार्ड सञ्चालनका लागि अस्पताल व्यवस्थापन समितिबाट ५ लाख रुपैयाँ खर्च गर्ने योजना अनुसार व्यवस्थापकीय काम भइरहेको प्रसाईले बताए ।



