कात्तिक १४,काठमाडौं । कम परिमाणमा डिजेल बिक्री गरेर नापतौलमा ठगी गरेको भन्दै काठमाडौंको स्वयम्भूमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पलाई जरीवाना तिराइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौं कार्यालयले स्वयम्भूस्थित हलचोक फ्यूल सेन्टरलाई एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयको विशेष सक्रियतामा कात्तिक १ गते भएको छड्के अनुगमनका क्रममा उक्त पम्पको एउटा नोजलबाट बिक्री हुने डिजेल तोकिएको परिमाणभन्दा कम मात्रामा बिक्री वितरण हुने गरेको भेटिएको थियो ।
कात्तिक १२ गते सम्म पम्पको विस्तृत अनुसन्धान सकेर एक लाख रुपैयाँ जरिवानाको निर्णय भएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका अधिकृत निराजन पुडासैनीले बताएका छन् ।
उक्त पम्पले प्रतिलिटर डिजेल बिक्री गर्दा २५ एमएलसम्म कम मात्रामा डिजेल दिने गरेको पाइएको थियो ।
पम्पबारे गुणस्तर कार्यालयबाट प्राविधिकसहितको जाँचपछि जरिवाना गराएर सिल खोलिएको गुणस्तर कार्यालयले जनाएको छ । प्राविधिक जाँचका क्रममा उक्त पम्पबाट तेल चोर्नकै लागि भनेर प्रणालीमा हानी पु¥याएको नदेखिएको कार्यालयको दाबी छ । मेसिनकै समस्याका कारण तेल कम मात्रामा आएको देखिएकोले सरसफाइ गरेपछि धेरै पटक गरेको परीक्षणमा यकिन परिमाणमा डिजेल दिन थालेको पनि कार्यालयले जनाएको छ ।

३० असोजदेखि प्रधानमन्त्री कार्यालयकै सक्रियातामा भएको अनुगमनमा काठमाडौंका थप ४ वटा पम्पले पनि कम परिमाणमा डिजेल तथा पेट्रोल बिक्री गरेको पाइएको थियो । ती पम्पहरुबारे भने अध्यनयन भइरहेको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय