मंसिर२७,काठमाडौं। भोली बिहीवारदेखि काठमाडौं महानगरपालिकामा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लाग्ने भएको छ। काठमाडौं महानगरपालिकाले आज पत्रकार सम्मेलन गर्दै भोली मंसिर २८ गतेदेखि काठमाडौं भित्र सुर्तीजन्य पदार्थ कच्चा सुर्ती,खैनी,गुट्खा,सुर्तीहरु प्रतिबन्ध गरिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले मंसिर २८ गतेपछि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल समेत बन्द गर्ने बताए ।
उनले पसलमा बेचेको पाइए दुई पटकसम्मलाई सामान जफत गरिने तर तेस्रो पटक पनि बेचेको पाए पसल नै बन्द गर्ने चेतावनी दिएका छन्।
अनुगमनका लागि महानगरपालिकाले सादा पोशाकमा १० जनाको टोलीमा नगर प्रहरीलाई खटाउने भन्दै उनले पहिलो चरणमा अनुगमनको लागि ५० जना नगरप्रहरी परिचालन गरिएको जानकारी दिए ।
उनले महानगरपालिकाले सार्वजनिक स्थलको एक सय मिटर वरिपरि चुरोट बेच्न र धुम्रपान गर्न पनि प्रतिबन्ध लगाएको बताए । त्यस्तै सार्वजनिक स्थलमा धुम्रपान गरेको पाइए एकशय रुपैयाँसम्म जरिवाना गरिने पनि बताए ।
जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, शहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको प्रवक्ता मानन्धरको भनाइ छ ।



