फागुन ९,हेटौंडा । मकवानपुरको १० वटै स्थानीय तहमा एक हप्ते दादुरा तथा रुबेला विरुद्धको खोप अभियान संचालन भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरद्धारा हेटौंडामा आज आयोजित दादुरा–रुबेला खोप सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिईएको हो।
आउँदो फागुन १३ गते देखि १९ गतेसम्म मकवानपुरका सबै स्थानिय तहमा दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।
दादुरा–रुबेला खोप ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाई लगाउन मिल्ने मिजारले बताए।
दादुरा र रुबेला खोपले बालबालिकाहरुमा लाग्ने विभिन्न किसिमका रोगहरुको नियन्त्रण गर्नुका साथै, अपाङ्गता र बालमृत्युदर समेत घटाउने उनले बताए।
स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार गत पुष १५ सम्म मकवानपुर जिल्लामा ४० जना बालबालिकाहरुमा दादुरा रोग लागेको पाईएको छ ।
सन् २०२६ सम्म दादुरा तथा रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ नेपाल सरकार लागीपरेको कार्यक्रममा जानकारी गराईयो ।



