बैशाख २६,हेटौंडा। कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले कम्पनी नै पिच्छे फरक–फरक नागरिकता नम्बर प्रयोग गर्ने गरेको खुलेको छ। नागरिकताबारे प्रहरी अनुसन्धानमा रहेका सिरोहियाले भिन्न–भिन्न कम्पनीको शेयर लिँदा भिन्न–भिन्न नागरिकता नम्बर प्रयोग गरेको देखिन्छ। उनी आफैँले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा राखेको नागरिकता धनुषाको हो। हिमालयन रि इन्स्योरेन्सको शेयर लगतमा धनुषाबाट जारी भएको नागरिकता नम्बर र हिमालय रि–इन्स्योरेन्सको नम्बर फरक छ। यसबारे उनले टाइप गर्दा नम्बर गलत भएको दाबी गरेका थिए।
तर, कान्तिपुर पब्लिकेसन्स प्रालिको सेयर लगतमा उनले न धनुषाको नागरिकता नम्बर राखेका छन्, न त हिमालय रि इन्स्योरेन्सको नै, उनले काठमाडौंबाट जारी भएको नागरिकता नम्बर राखेका छन्।
शेयर लागतमा सिरोहियाको नागरिकता नम्बर ३२८ र जारी भएको जिल्ला काठमाडौं उल्लेख छ। कम्पनी रजिस्टार कार्यालयमा नागरिकताको प्रतिलिपि भने फेला परेन। तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ३२८ नम्बरसँगै जारी मितीबाट नम्बर कायम हुने गरेको देखियो।
कैलाश सिरोहियाको विवरणमा नम्बर छ, मिती छैन। उनको श्रीमती स्वस्तिका सिरोहियाको नाममा जारी भएको नागरिकताको नम्बर कैलाशसँग मिल्छ। तर उनकोमा वर्ष नि छ। स्वस्तिकाको ३२८÷०५१–०५२ लेखिएको छ।
तर कान्तिपुर पब्लिकेसन्सको सेयर लगतमा स्वस्तिका सिरोहियाको अर्कै नागरिकता नम्बर प्रयोग गरिएको छ। काठमाडौंबाट जारी भनेर स्वस्तिका सिरोहियाको जुन नागरिकता नम्बर राखिएको छ, जिल्ला प्रशासन कार्यालयको रेकर्डमा भने सो नागरिकता नम्बर अर्कैको नाममा जारी भएको देखिन्छ।
कान्तिपुर पब्लिकेसन्स प्रालिको हकमा पनि हिमालयन रि–इन्स्योरेन्समा जस्तै टाइप गर्दा गल्ती भएको वा श्रीमान÷श्रीमतीको विवरण एकै शेयर लगतमा राख्दा झुक्किए की? तर हैन, कान्तिपुर टेलिभिजनमा स्वस्तिकाको शेयर छैन। त्यहाँ कैलाश लगायत चार जनाको नाममा सेयर रहेको देखिन्छ।
कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेडमा समेत कैलाश सिरोहियाको नागरिकता नम्बर धनुषाको नभई काठमाडौंको नम्बर ३२८ राखिएको छ।

उनले सार्वजनिक गरेको नागरिकतामा उनको नाममा धनुषाबाट जारी भएको नागरिकता नम्बर ३९६९८८८६ रहेको छ। तर त्यो नम्बर पनि शिवजी साहु तेलीको नाममा उनको जारी मिति भन्दा अघि नै जारी भएको जिल्ला प्रशासन कार्यालय धनुषाको रेकर्डमा देखिन्छ।
जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेपछि प्रहरी अनुसन्धानमा रहेको छ। अनुसन्धान स्रोतका अनुसार हालसम्म कैलाश सिरोहिया र उनको बाबुको नागरिकता जारी भएको एकिन मिती र नागरिकता जारी गर्दा प्रक्रियाका निर्णय र टिप्पणीहरु फेला परेको छैन।उकेराले लेखेको छ।



