माघ २४,निजगढ।आसन्न प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै गर्दा बाराको निजगढमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा जनलहर बढ्न थालेको छ। कुनै समय वडा भेलाका लागि समेत मानिस जुटाउन चुनौतीपूर्ण मानिने यस क्षेत्रमा पछिल्लो समय रास्वपाप्रति सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको हो।
यसै सन्दर्भमा, रास्वपा निजगढ नगर सभापति तिलक अधिकारीको अध्यक्षतामा भएको एक विशेष भेलाले १५१ सदस्यीय ‘निजगढ नगरस्तरीय निर्वाचन प्रचार–प्रसार समिति’ गठन गरेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै निजगढमा रास्वपाले आफ्नो संगठन विस्तार र चुनावी अभियानलाई तीव्र पारेको हो।
कार्यक्रममा बारा क्षेत्र नम्बर १ का प्रत्यक्ष उम्मेदवार अधिवक्ता गणेश धिमाल र समानुपातिक उम्मेदवार प्रभा ढकालको प्रमुख उपस्थिति रहेको थियो।
परिवर्तनका लागि ‘घण्टी’ को विकल्प छैन: उम्मेदवार धिमाल
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार धिमालले निजगढमा देखिएको यो सहभागिताले अब पुराना दलहरूको सिन्डिकेट तोडिने दाबी गरे।
धिमालले निजगढमा देखिएको यो जनलहरले बारा १ मा परिवर्तनको संकेत गरेको समेत बताए।
“हिजो मान्छे जुटाउन गाह्रो हुने ठाउँमा आज स्वतःस्फूर्त रूपमा जनता रास्वपामा जोडिनु भनेको सुशासन र समृद्धिको भोक हो। हामी विधिको शासन र विकासका लागि चुनावी मैदानमा छौँ।”उनले भने।
त्यस्तै, समानुपातिक उम्मेदवार प्रभा ढकालले महिला र युवाहरूको बढ्दो सहभागिताले पार्टीलाई थप उर्जा मिलेको बताईन्।
नवनिर्मित परिचालन कमिटीले अब घर-घरमा पुगेर रास्वपाको एजेन्डा पुर्याउने जिम्मेवारी पाएको छ।
भुक्ने कुकुरले टोक्दैन, हामी परिवर्तनको बाटोमा छौँ” : वरिष्ठ नेता लम्साल
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा बाराका वरिष्ठ नेता गोपाल लम्सालले विपक्षीहरूको आलोचनालाई कडा जवाफ दिएका छन्।
उनले भने,”समाजमा एउटा उखान छ– ‘भुकेको कुकुर भुक्छ, टोक्दैन।’ अहिले रास्वपाको बढ्दो जनलहर देखेर डराएकाहरूले कुरा काट्नु स्वाभाविक हो। कुरा काट्नेको काम कुरा काट्नु हो, उनीहरूलाई काट्न दिऊँ, हामी त्यसको परवाह गर्दैनौँ।”
उनले थप जोड दिँदै भने, “हामी सही बाटोमा छौँ र बाराका ऊर्जावान् युवाशक्तिसँग ‘होस्टेमा हैँसे’ गर्दै अघि बढिरहेका छौँ। अब समय आएको छ परिवर्तनको। त्यसैले डगमगाउनु पर्ने कुनै कारण छैन, यसपालि निर्धक्क भएर घण्टी बजाउँ र नयाँ युगको सुरुवात गरौँ।”
पार्टी प्रवेशको लहर

वर्षौँदेखि विभिन्न पार्टीमा आबद्ध रहेका स्थानीय नेता तथा कार्यकर्ताहरूले पुराना दलहरूबाट परिवर्तन सम्भव नभएको भन्दै घण्टी चुनाव चिन्हमा आफ्नो भविष्य देखेको बताएका छन्। नवप्रवेशीहरूलाई उम्मेदवार धिमाल र ढकालले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए।

परिवर्तनको घण्टी अब निजगढको घर-घरमा पनि!
नवप्रवेशीहरूलाई स्वागत गर्दै नगर सभापति एवं प्रचार प्रसार समितीका अध्यक्ष तिलक अधिकारीले निजगढमा रास्वपा अब एक निर्णायक शक्तिको रूपमा उदाएको र १५१ सदस्यीय विशाल समितिले घर-घरमा ‘घण्टी’को आवाज पुर्याउने बताए।
कार्यक्रममा रास्वपा जिल्ला सचिव रामहरि खरेल, नगरका पदाधिकारीहरु सबिना विष्ट, नेत्र कार्की,लगायत विभिन्न वडाबाट उल्लेख्य संख्यामा सर्वसाधारण तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।



