जेठ ७,निजगढ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाराका निलम्बित जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।

यहि जेठ ९ गते हुन गइरहेको बारा जिल्लाको विस्तारित बैठक र अधिवेशनको पूर्वसन्ध्यामा केन्द्रले उनलाई कारबाही गरेको पत्र पठाएको हो।

​आफूमाथिको कारबाहीलाई स्वर्णकारले ‘राजनीतिक हत्या’ को संज्ञा दिएका छन्।

पार्टीको निर्णय सार्वजनिक भएलगत्तै एक अपिल जारी गर्दै उनले केन्द्रको यो कदमलाई षड्यन्त्रको पराकाष्ठा र विना छानबिन गरिएको अन्यायपूर्ण निर्णय भनेका छन्।

​निवर्तमान जिल्ला सभापति स्वर्णकारले आसन्न अधिवेशनमा आफू पुनः सभापति चुनिने डरले पार्टीभित्रका ‘माननीयहरू’ (सांसदहरू) को दबाबमा केन्द्रले यस्तो निर्णय लिएको आरोप लगाएका छन्।

​”तथ्य र प्रमाणहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्दै, विना कुनै निष्पक्ष छानबिन मलाई निष्कासन गरियो,” स्वर्णकारले भनेका छन्, “अधिवेशनमा इमानदार पार्टी सदस्यहरूले मलाई पुनः जिल्ला सभापति चुन्ने डरले माननीयहरूको दबाबमा मलाई पार्टीबाटै हटाइयो।”

​रास्वपाको निर्णयप्रति कडा आक्रोश पोख्दै स्वर्णकारले पार्टीको प्राविधिक दस्ताबेजबाट आफ्नो नाम हटाइए पनि बारा र महागढीमाईका जनताको मनबाट कसैले हटाउन नसक्ने दाबी गरे।

उनले जेठ ९ गते हुने भनिएको रास्वपाको विस्तारित बैठकलाई ‘कथित’ को संज्ञा दिँदै त्यसको जवाफ बाराका सच्चा कार्यकर्ताले समयमै दिने चेतावनी समेत दिएका छन्।

​स्वतन्त्र रूपमा राजनीति अगाडि बढाउने घोषणा

​रास्वपाबाट निष्कासित भए पनि आफ्नो राजनीतिक यात्रा नसकिएको स्वर्णकारले प्रष्ट पारेका छन्।

उनले आगामी स्थानीय निर्वाचनमा महागढीमाईका जनताले आफ्नो राजनीतिक फैसला गर्ने बताउँदै अब स्वतन्त्र रूपमा जनताको सेवामा लागिरहने घोषणा गरे।

​”मेरो राजनीतिक यात्रा रास्वपाको लोगोमा सकिएको छैन, बरु महागढीमाईको माटो र यहाँका जनताको सेवाका लागि अब स्वतन्त्र रूपमा अझ बलियो भएर अगाडि बढ्नेछ,” स्वर्णकारले अपिलमा उल्लेख गरेका छन्।

​रास्वपाले स्वर्णकारलाई के कति कारणले निष्कासन गरेको हो भन्नेबारे केन्द्रबाट आधिकारिक रूपमा थप विवरण आउन बाँकी छ।

तर, जिल्ला अधिवेशनको मुखमा भएको यो कारबाही र स्वर्णकारको विद्रोहले बारामा रास्वपाभित्रको आन्तरिक विवादलाई भने छताछुल्ल पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय