असार ७,हेटौंडा। मकवानपुर प्रहरीले भन्सार छली ल्याएको २ करोड ७१ लाख २१ हजार ७ शय ८० रुपैयाँ बराबरको इलेक्ट्रीक चुरोट भेप र फ्लेवरसहित ५ जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले बिहिवार साँझ काठमाडौबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना६ ख ७१६३ नम्बरको बसमा फल्स बटम बनाई ल्याईएको अवैध ५८ कार्टुन भेप र फ्लेवरसहित बस पनि नियन्त्रणमा लिएको हो।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा संयुक्तरूपमा खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित सडक खण्डबाट उक्त अवैध भेपसहितको बस नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरुमा बस चालक दोलखाको भीमेश्वर नगरपालिका वडा नं.२ बस्ने बर्ष ३७ को सलाम मोक्तान,
बसका सह चालक उदयपुरको कटारी नगरपालिका-११ बस्ने बर्ष २७ को प्रबिन्द्र राना,नुवाकोटको दुप्चेश्वर गाउँपालिका-७ बस्ने बर्ष ३९ को ईन्द्रबहादुर दर्जी,सोही स्थान बस्ने बर्ष ३० को सन्तोष भुषाल, धनकुटाको बेलारा नगरपालिका- १६ बस्ने बर्ष २९ को राजकुमार हिमाङ छन्।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाउने कार्य भई रहेको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त समानहरु काठमाण्डौको बालाजु बसपार्क भन्दा माथि भत्केको पुलको एरियाको रमाईलो डांडाबाट लोड गरेको,बसमा फल्स सिलिङ पहिले देखि नै रहेको, बस नेपाल दिल्ली चल्ने आधिकारिक बस नभएको,बस केहि व्यक्तीहरुले भाडामा लिई एक महिनाको लागि नेपाल, भारत र अन्य देशका यात्रुहरुलाई भारत घुमाउने भनि नेपाल स्थित भारतिय एम्बेसीबाट यहि असार ५ गते रोड पर्मिट लिईएको,बसमा कुवेतबाट आएका भारत घर भएका यात्रुहरुलाई बिभिन्न मान्छेहरु मार्फत संम्पर्क गरी ल्याईएको, बसमा सवार भई आएका यात्रुहरुलाई बिश्वास दिलाउन नेपाल – भारतको दिल्ली चल्ने बस हो भनि भिजिटिङ कार्ड समेत दिईएको, एसि बस भनिए पनि बसको एसि नचल्ने अवस्थामा रहेको, बसको डिक्की नखोल्ने गरेको, पक्राउ परेका व्यक्तीहरु मध्ये केहि व्यक्तीले पहिले पनि पटक पटक यस्ता किसिमको भन्सार छलिका अबैध समानहरु ल्याउने लैजाने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय