पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका–९ स्थित रेडियो निजगढ अगाडि शुक्रबार (आज) अपरान्ह अटो र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा आमाछोरासहित पाँच जना घाइते भएका छन्।
करिब ४:५० बजे चपुरबाट निजगढतर्फ आउँदै गरेको ज १० प ३८२४ नम्बरको मोटरसाइकल र निजगढबाट सिंगौलतर्फ आउँदै गरेको ना २ ह ५४२७ नम्बरको अटो आपसमा ठोक्किएका हुन्।
अगाडि गइरहेको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा अटोले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–२ निवासी २१ वर्षीय सुधिर डंगोल र पछाडि सवार उनकी ६० वर्षीया आमा निधि श्रेष्ठ घाइते भएका छन्।
सुधिरको अनुहार र हातखुट्टामा चोट लागेको छ भने निधि श्रेष्ठको दाहिने हात र बायाँ खुट्टामा चोट पुगेको छ। दुवैको अवस्था सामान्य छ।
यस्तै, अटोमा सवार सर्लाहीको बागमती नगरपालिका–४ निवासी ४९ वर्षीय राजु माले, ५३ वर्षीया मैया राई र ६४ वर्षीया सीता देवी परियार घाइते भएका छन्। मालेको बायाँ खुट्टा भाँचिनुका साथै कोखामा चोट लागेकाले अवस्था मध्यम रहेको छ भने अन्य दुई जनाको हातखुट्टामा सामान्य चोट लागेको छ।
घाइते सबैलाई तत्काल उद्धार गरी निजगढस्थित सामुदायिक प्रसूति अस्पताल लगिएको थियो। गम्भीर चोट लागेका राजु मालेलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको छ भने अन्य घाइतेहरूको स्थानीयस्तरमै उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारी साधन र अटो चालक रौतहटको चन्द्रपुर नगरपालिका–३ निवासी २६ वर्षीय जितबहादुर भोलनलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



