असार ७,हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तु सिकारी र निकुञ्ज सुरक्षाकर्मीबिच भएको दोहोरो झडपमा एक जना सिकारीको ज्यान गएको छ ।शुक्रबार (आज)बिहान सवा ८ बजे तिर निकुञ्ज कर्मचारी र नेपाली सेनाको गस्ती टोलीको वन्यजन्तु सिकारीसँग दोहोरो झडप भएको हो।
झडपमा परि शिकारी हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको ज्यान गएको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए।
उनका अनुसार जीतपुरसिमरा -२१ पकडीबास भन्ने स्थानमा शिकारी र सेना तथा निकुञ्ज कर्मचारीको गस्तिसँग जम्काभेट भएको थियो।गस्ती टोलीलाई देख्ने बितिक्कै शिकारीले फायर गरेको र सेनाको जवाफी फायरिङमा एकजना शिकारीको घटनास्थलमै मृत्यु भएको डिएसपी दाहालले समाचार क्लबलाई बताए।
हतियारसहित ५ जनाको समूहमा आएका सिकारीहरूमध्ये अन्य ४ जना भाग्न सफल भएको जनाईएको छ।
सिकारीहरूको साथबाट २ थान भरुवा बन्दुक, त्यसमा प्रयोग हुने ५७ राउन्ड गोली, ३ सय ग्राम बारुद, २ वटा मोबाइल, हँसिया, खुकुरी, लाइटर,गुलेली लगायतका सामग्री बरामद गरिएको पनि डिएसपी दाहालले बताए।

शिकारीहरुले भाग्ने क्रममा छोडेका सामग्रीहरु।



