असार १०, हेटौंडा । आफूलाई तपश्वी बताउने रामबहादुर बम्जन बाल यौन दुराचार गरेको कसूरमा दोषी ठहर भएका छन् । जिल्ला अदालत, सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार उनलाई दोषी ठहर गरेको हो।
बम्जनलाई सजायको लागि यहि असार १७ गते पेशी तोकिएको छ।
रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन् । ज्ञानकुमार र जितबहादुरलाई मतियारको रुपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो ।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत वर्ष पुस २४ गते काठमाडौंको हात्तिगौंडास्थित उनकै निवासबाट पक्राउ गरेको थियो । बम्जन २०७६ सालदेखि नै प्रहरीको फरार सुचिमा थिए।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान वाईबा बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धुलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ ।
उनिमाथी सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो ।



