असार १५,निजगढ । बाराको निजगढमा संचालित वागदेव दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो संस्थामा दुग्ध बिक्रि गर्ने कृषकहरुलाई प्रती लिटर १ रुपैयाँ नगद अनुदान वितरण शुरु गरेको छ।
निजगढ नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा सहकारीमा दुग्ध बिक्रि गर्ने कृषकलाई प्रती लिटर रु.१ अनुदान बितरण गर्ने नीति अवलम्बन गरे बमोजिम उक्त अनुदान वितरण गरिएको हो।
नगरप्रमुख सुरथ पुरीले शुक्रवार निजगढ-५ स्थित संस्थाको मूख्य कार्यालयबाट अनुदान रकम वितरण शुरु गरेका छन्।
किसानहरुले आफुलाई पायक पर्ने शाखाबाटअनुदान रकम प्राप्त गर्न सक्ने संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिएका छन्। संस्थाको निजगढ नगरमा १४ ओटा शाखाहरु संचालनमा छन्।
संस्थामा आवद्ध करीब २ हजार ५ सय ९७ जना कृषकलाई कुल २६ लाख २४ हजार ५२५ रुपैयाँ अनुदान वितरण गरिने संस्थाका सचिव प्रकाश सापकोटाले जानकारी दिए।
यस आर्थिक वर्षमा सबैभन्दा बढी दुग्ध बिक्रि गर्ने बकैया ठाकुर पशुपालन फार्मकी भवानी सापकोटालाई १९ हजार ४ सय १८ रुपैयाँ अनुदान प्रदान गरिने सापकोटाले बताए।



