साउन ९,काठमाडौ । बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनसहित १८ जनाको मृत्यु भएको छ।
जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको हो। विमानका पाइलटको अस्पतालमा उपचार भइरहेको छ ।उनको आँखामा चोट लागेको र बोल्नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
जहाजमा सवार एकै परिवारका जहाजका प्राविधिक मनुराज शर्मा, प्रिजा खतिवडा र उनिहरुका सानो छोरा अधिराज शर्माको मृत्यु भएको हो ।
मनुराज र प्रिजा श्रीमान्–श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन् ।
प्राविधिक मनुराज पोखरा जाने भएपछि श्रीमती प्रिजालाई अफिसबाट र छोरा अधिराजलाई विद्यालयबाट बोलाएर घुम्न पोखरा लग्दै गरेको खुलेको छ।
जहाज आज बिहान सवा ११ बजे मर्मतका लागि पोखरातर्फ जाने क्रममा दूर्घटनाग्रस्त भएको थियो।
जहाज धावनमार्ग छोडेको केही सेकेन्डमा अनियन्त्रित भएर भुइँमा खसेको भिडियोमा देख्न सकिन्छ।



