भदौ २३,हेटौंडा ।पर्सामा आईतवार ऋषिपञ्चमीका दिन आमासँगै नदीमा नुहाउन गएका दुई बालकको नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेहरूमा भारत बिहारको बेनिया बनकटवाका १० वर्षीय गुलशन ठाकुर हजाम र बिहारकै सिक्टाका ८ वर्षीय अभिषेक पटेल रहेका छन्। दुवै बालक जगरनाथपुर–५ मसिहानीस्थित मावलीघरमा बस्दै आएका थिए।
जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोल नजिकको गंगोल नदीमा नुहाउने क्रममा डुबेर ति बालकहरुको मृत्यु भएको हो।
हिजो अपराह्न ४ बजेतिर गाँउका महिलाहरु ऋषिपञ्चमीको अवसरमा गंगोल नदीमा नुहाउन गएका बेला ती दुवै बालक पनि आफ्नी आमासँगै गएका थिए। महिलाहरू नदीमा नुहाइरहेका बेला ती बालकहरु पनि नुहाउन नदीमा पसेका र दुवै बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन्।



