भदौ २४, हेटौंडा। हेटौंडामा सोमवारबाट तेस्रो संस्करणको रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा–५,पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोली नागस्वती भेट्रान्स क्लबलाई २–४ गोलले हराउँदै चितवन भेट्रान्सले विजयी सूरुवात गरेको छ । यो जीतसँगै चितवन भेट्रान्स क्वार्टरफाइनल प्रवेश गरेको छ भने नागस्वती भेट्रान्स प्रतियोगिताबाट बाहिरीएको छ ।
रोटरी क्लब अफ मकवानपुरको आयोजना, पिप्ले युवा क्लबको सहआयोजना तथा हेटौंडा उपमहानगरपालिकाको मुख्य सहयोगमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता चितवन भेट्रान्सले टाइब्रेकर मार्फत जित निकालेको हो । खेलमा नागस्वतीको तर्फबाट राजेन्द्र थापाले पहिलो हाफको १० मिनेटमा एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म १–० गोलले पछि परेको चितवन, दोस्रो हाफको २३औं मिनेटमा सूर्य नारायण श्रेष्ठले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । १÷१ गोलको बराबरीमा खेलको निर्धारीत समय सकिएपछि टाइब्रेकर मार्फत नतिजा निकालिएको हो । टाइब्रेकरमा दुबै पक्षबाट ५–५ खेलाडीले बल प्रहार गर्दा घरेलु टोली नागस्वतीको २ वटा प्रहार मात्र गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच चितवनका गोल रक्षक राजु शाहि घोषित भएका छन् । उनले पुरस्कार स्वरुप मायाको चिनो प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा सर्लाहीको हरिवन भेट्रान्स र घरेलु टोली हेटौंडा भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा आयोजक रोटरी पिप्ले भेट्रान्स र बाराको निजगढ भेट्रान्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएकोे छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ र उपविजेता टिमले एक लाख एक हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा १५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल भदौ ३१ गते हुनेछ ।



