भदौ २५,हेटौंडा ।मकवानपुरका २ जना फरक बिधाका खेलाडीहरु राष्ट्रिय टिममा पर्न सफल भएका छन्। फुटबलर भुवन कामी र क्रिकेटर रिजन ढकाल राष्ट्रिय टिममा परेका हुन्। मकवानपुरका भुवन १९ वर्ष उमेर समूहको राष्ट्रिय फुटबल टिममा परेका छन् । प्रशिक्षक सनोज श्रेष्ठले सोमबार सार्वजनिक गर्नुभएको २३ सदस्यीय अन्तिम सूचिमा रक्षापंक्तिका कामी पनि राष्ट्रिय टिममा परेका हुन् ।
आगामी असोज ४ गतेदेखि १४ गतेसम्म भुटानमा हुने दक्षिण एसियाली प्रतियोगितामा सहभागी हुन अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिम तयार पारेको हो । मकवानपुरका भुवन एन्फा एकेडेमीका उत्पादन हुन् । उनि त्रिभुवन आर्मी फुटबल क्लबमा व्यावसायिक फुटबल खेलिरहेका छन् ।
त्यस्तै मकवानपुरका क्रिकेटर रिजन ढकाल राष्ट्रिय टिममा परेका छन् । नेपाल क्रिकेट संघ, क्यानले रोहित पौडेलको कप्तानीमा आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने राष्ट्रिय टोलीमा मकवानपुरका रिजन पनि समेटिएका हुन् । क्यानले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई सोमबार १६ सदस्यीय टोली घोषणा गरेको छ ।
लिग २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज पनि हुनेछ । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।
त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुबै सिरिज हुनेछ । अमेरिकालाई फेरि टोली घोषणा गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् । ८ टोली सहभागी लिग २, आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् ।



