भदौ २९,हेटौंडा । मकवानपुरको हेटौंडा उपहमानगरपालिका–४ स्थित पारीजातपथमा संचालित २ ओटा मिठाई पसलहरुलाई उपमहानगरपालिकाले जरिवाना तिराउने भएको छ । हेटौंडामा लामो समयदेखी सञ्चालन भईरहेको दाजुभाइ स्विट्स र केही समय अघिमात्रै संचालनमा आएको वैष्णव स्विट्सलाई उपमहानगरले जनही २५हजारका दरले जरिवाना गराउन पत्र काटेको हो । यी दुई होटलहरुलाई सात दिनभित्र उपमहानगरपालिका कार्यालयमा जरिवाना तिर्न पत्र काटिएको उपमहानगरको उद्योग ,पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिएका छन्।
हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हित संरक्षण मञ्चको संयुक्त बजार अनुगमनका क्रममा दाजुभाइ स्विट्समा भान्सा फोहोर भएको, मःम बनाउन ल्याइएको बन्दा कुहिएको अवस्थामा अव्यवस्थितसँग राखिएको लगायतको कमजोरी फेला परेको थियो ।
यस्तै दाजुभाइको खोपेगल्लीमा रहेको मिठाई बनाउने भान्सामा फोहोरको ढल निकास नगरी ,ढल नजिकै मिठाई बनाइरहेको अनुगमन टोलीले फेला पारेको थियो ।
यता, वैष्णव होटलले कालो ढुसी परेको पाउरोटी बिक्रीका लागि राखेको अनुगमन टोलीले फेला पारेको थियो भने भान्सा सरसफाई नगरिएको, उद्योग वाणिज्य कार्यालयमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, बिक्रीका लागि राखिएका खाद्यवस्तुको लेबलिङ उपयुक्त तरिकाले नराखेको भेटिएको थियो ।
अनुगमनका क्रममा वैष्णव होटलले चितवनबाटै मःम लगायतका तयारी खाद्यवस्तु हेटौंडा ल्याएर बिक्री गर्ने गरेको समेत खुलेको छ । वैष्णव स्विट्स चितवनको शाखाको रुपमा यहाँ संचालन गरीएको जनाईएको छ। ती होटलहरुलाई भान्सा सुधार गर्न निर्देशन दिइएको छ।
पारिजातपथमै भर्खरै सञ्चालनमा आएको नयाँ अनमोल होटललाई भने सचेत गराइएको छ ।

उपमहानगरले यसपालीदेखि बजार अनुगमनलाई विगतमा भन्दा प्रभावकारी बनाएको जनाएको छ । सरोकारवाला निकायले बजार अनुगमनलाई ‘आक्रामक’ बनाउँदै कमजोरी देखिए ठाउँको ठाउँ कारबाही गरेर जरिवाना तिराउने भएको छ ।

विगतमा बजार अनुगमनबाट फर्किएर कार्यालयमा कमजोरीका दृष्टिले कस्तो कारबाही गर्ने भन्ने निर्णय हुने गरेको थियो । यसो हुँदा कमजोर कारबाही र बजार अनुगमनको प्रभावकारितामाथि प्रश्न उठ्ने गरेको थियो । यसअघि विभिन्न निकायसँग समन्वय गरेर गर्ने बजार अनुगमन, नाम मात्रैको अनुगमन हुने गरेको पाइएको उपभोक्ताहरुले नै गुनासो गर्ने गरेका थिए । अनुगमनका क्रममा व्यापारी तथा व्यवसायीलाई दिएको निर्देशन कार्यान्वयन नभएपछि नाम मात्रैको बजार अनुगमनमा सीमित हुने गरेको उपभोक्ताहरुको भनाई थियो ।

तर, हेटौंडामा बिहीवारबाट सुरु बजार अनुगमनले भने कमजोरी देखिए ठाउँकोठाउँ कारबाही गर्दै जरिवाना तिराएको छ।
बजार अनुगमनको नेतृत्व उपमहानगरको आर्थिक विकास महाशाखाअन्तर्गतको उद्योग, पर्यटन, सहकारी शाखा प्रमुख पौडेलले गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय