भदौ २९,निजगढ ।सचेत सरोकार निजगढले धर्मशालाको नाममा रहेको जग्गा व्यापारीक प्रयोजनमा लगाइएको भन्दै बिरोध प्रदर्शन गरेको छ । सरोकारवालाले निजगढ नगरपालिका वडा नम्बर ९ शहिदचोक स्थित लक्ष्मीनारायण मन्दिर तथा धर्मशालाको नाममा रहेको जग्गा कृषि विकास बैंक लिमिटेडलाई व्यापारीक प्रयोजनमा दिएकाले उक्त जग्गा धर्मशालाकै रुपमा प्रयोग गर्न माग राख्दै शुक्रबार प्रदर्शन गरेका हुन्।
मन्दिर तथा धर्मशालाको जग्गामा व्यापारिक केन्द्र बनाइ कृषि विकास बैंक सञ्चालन गरी सटरहरुसमेत बनाई व्यवसाय सञ्चालन गरिएको तथा भवन पछाडि सानो मन्दिर मात्र बनाइ समितिले व्यापार व्यवसाय गरेका कारण बिरोध गरेको सचेत सरोकार निजगढका संयोजक खड्गप्रसाद उप्रेतीले जानकारी दिए । उनले निजगढमा भएका यस्ता विकृति विसंगतिका विरुद्ध सरोकारले आवाज उठाउने र यस्ता गतिविधिका विरुद्ध लाग्ने बताए ।
कार्यक्रममा सरोकारवालाहरु बिनोद भारती, वासुदेव तिमल्सिना, भक्त दर्लामी, रामहरि खरेल, नवराज योञ्जन, बिदुर खड्का,केशब राउत लगायतको उपस्थिति रहेको थियो।



