असोज ११,हेटौंडा । सहकारी ठगीमा फरार रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक देवकुमार नेपाली भारतबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले भारतीय प्रहरीको सहयोगमा नेपालीलाई पक्राउ गरेको स्रोतले जनाएको छ। फरार नेपाली ढोरपाटन नगरपालिका बुर्तिवाङ बागलुङका नगरप्रमुख समेत हुन्।
उनि गत स्थानिय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । इमेजका संस्थापक अध्यक्ष नेपालीले २०८१ साउन १६ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई पत्र लेखेर आफूले सबै सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको लिखित जवाफ पठाएका थिए। उनको त्यही पत्रलाई छानबिन विशेष समितिले सोधपुछको अंग बनाएको थियो।

इमेजको बागलुङ बजारमा केन्द्रीय कार्यालय सहित, बुर्तिवाङ, गलकोटमा सेवा केन्द्र र कास्कीको पोखरामा शाखा कार्यालय सञ्चालनमा छन्। बागलुङ र पोखरामा सहकारी खोलेर दुवै सहकारीको अध्यक्ष भई सञ्चालक समितिमा डमी पात्रहरू राखेर आफैँले काम गरेको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।
कुल १ अर्ब ८० करोड रुपैयाँ बचतकर्ताको रकम फिर्ता गर्न बाँकी रहेको नेपालीले पत्र मार्फत जानकारी गराएका छन्। समितिको प्रतिवेदन अनुसार हाल नेपालीसँग भएको सम्पत्ति विक्री वितरण गरेर बचतकर्ताको रकम फिर्ता गर्न सकिने अवस्था छ।
सम्पत्ति बेचेर बचतकर्ताको रकम फिर्ता गर्न चाहेको र त्यसका लागि समिति र सरकारले वातावरण मिलाइदिन उनले आग्रह गरेका थिए।




