असोज १२,हेटौंडा । मकवानपुरको सिस्नेरीमा संचालित एन्फा एकेडेमीका ६ विद्यार्थीहरुको शव फेला परेको छ । उनीहको शव आज शनिबार साँझ ५ बजे निकालिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभएको छ ।
बेपत्ता ६ जनाकै शव भेटिएको हो। शवको पोष्टमार्टम लगायतका कानुनि प्रक्रिया पुरा गर्न सेनाको हेलिकप्टरमार्फत आजै काठमाडौं लगिएको मकवानपुरका कार्यवाहक प्रवक्ता ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । सापकोटाले सबै ६ जनाको शव एउटै पहिरोले पुरीएको अवस्थामा फेला पारीएको जानकारी दिनुभयो।
अस्ति बिहीबारदेखि परेको अविरल वर्षाका कारण हिजो शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएका उनीहरु बगाउने डरले सुरक्षाकर्मीलाई छलेर भागेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी स्थानीय वत्सला माध्यमिक विद्यालयमा दैनिक प्रशिक्षणमा ४० जना खेलाडी राखेको थियो ।
एन्फा केन्द्रीय सदस्य टिकाराम लामाका अनुसार मकवानपुरका अनुप घलान, सुमन योन्जन र दिवस बानियाँ,सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मी शुक्रवार देखि सम्पर्कविहिन थिए । अनुप घलान मकवानपुर जिल्ला समन्वय समितिका संयोजक ललित घलानका छोरा रहेको बताइएको छ ।
एन्फाले सिस्नेरीमा गत सालदेखी पहिलो पटक एकेडेमी संचालन गरेको थियो ।



