असोज १३, हृटौंडा । भ्रष्टाचार बिरुद्ध द डार्क फाईल अभियानका संयोजक राजकुमार तिमल्सिना , सिधाकुरा अनलाइनका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई सर्वोच्च अदालतले जेल सजाय सुनाएको छ । सिधाकुराले सर्वोच्चका तत्कालीन न्यायाधीश आनन्दमोहन भट्टराई र वरिष्ठ अधिवक्ता हरि उप्रेतीका साथै सञ्चार उद्यमीहरू कैलाश सिरोहिया र रामेश्वर थापाको सेटिङ्गमा ४ सय भन्दा बढी मुद्धाहरु मिलाइएको भन्दै अडियो सामग्री प्रशारण गरेको थियो । उक्त सामग्रीले अदालतको अवहेलना गरेको ठहर गरी आज सर्वोच्चले सजाय सुनाएको हो ।
सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले निर्णय सुनाउँदै अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई ६ महिना कैद सजाय सुनाएको छ भने सिधाकुराका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको छ । यद्यपि, माफी मागे ७ दिन मात्र कैद बस्नुपर्ने फैसलामा उल्लेख छ । उनीहरूलाई जनही ५ हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
तर अदालतले फैसला गर्दा आफ्नो तर्फबाट जिरह प्रस्तुत गरिएकोमा आफुले चलाउने तत्कालीन मोबाइल नम्बरबाट कल डिटेल निकाल्न नदिई, पोलियोग्राफ टेस्टहरू लगायतका टेस्टहरू पनि नगरी फैसला सुनाएको भन्दै तिमील्सनाले आपत्ति जनाउनुभएको छ ।
यसैबिच सर्वोच्चको फैसलालगत्तै पत्रकार ढुंगानाले फैसलालाई सम्मान गर्दै केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएको फेसबुकमार्फत जनाएका छन् । ‘सम्मानित सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै म र मेरो प्रकाशक एवम् तपाईंहरूको प्रिय प्रस्तोता युवराज कँडेल केन्द्रीय कारागार जगन्नाथदेवल चलान भएका छौँ ।उनले’लेखेका छन् ।
उनले जेलबाट छुटेसँगै फेरि सञ्चाकर्ममै रहने र विचलित नहुने बताएका छन् । ‘प्रिय पाठक र श्रोताहरू हामी फेरि समाचार लेख्नै आउने छौँ । हामी समाचार लेख्न नै जन्मिएका हौँ । समाचारको धर्मबाट कहिल्यै विचलित हुने छैनौँ’, ढुंगानाको भनाइ छ ।



