असोज २८,डंडेलधुरा। डडेल्धुराको अमरगढी नगरपालिका-७ स्थित पोखरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा ५८ वर्षीय पुरुष पक्राउ परेका छन्।गत शनिवार(दशैंको टिकाको दिन) पोखरा बजारमा मृत फेला परेकी १४ वर्षीया आरती भट्टराईको हत्या आरोपमा स्थानीय स्टेशनरी व्यापारी टेकबहादुर भण्डारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
डडेल्धुरा प्रहरी प्रमुख डिएसपी सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरेका छन्।
भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेस्नरी पसल छ।
पसलभित्र आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका प्रहरीले बताएको छ।शव व्यवस्थापनको क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको जिकिर गर्दै आएका छन्।
डीएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिल्यै केही भन्न नसकिने बताए।
ति किशोरी शुक्रवार २५ गते बेलुका ४ बजे घरबाट धान कुटाउनका लागि बजार नजिकै मिलका लागि हिँडेकी थिइन्।
प्लास्टिकको बोराभित्र किशोरीको शव फेला परेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए।



