कार्तिक ५,राजविराज। सिरहामा आफ्नी ‘गर्लफ्रेन्ड’ सँग साथीहरुलाई यौन सम्पर्क राख्न दिन नमान्दा एकजना युवाको हत्या भएको छ।
जिल्लाको गोलबजार नगरपालिका वडा नम्बर १३ निवासी कृष्णकुमार महराको आफ्नै ५ जना साथीहरु मिलेर हत्या गरेका हुन्।
लागु औषध नाईट्रोभेट लगायत सेवन गरेर पाँच जना साथीहरूले आफ्नै साथीको हत्या गरेको अनुसन्धानबाट खुलेको सिरहा प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले बताएका छन्।
गत असोज २७ गते सिरहाको सुखीपल नगरपालिकामा कृष्ण महराकी ‘गर्लफ्रेन्ड’ सँग साथीहरुले पनि यौन सम्पर्क गर्ने प्रस्ताव राखेका थिए । तर उनले त्यो प्रस्ताव अस्वीकार गरिदिएपछि त्यही निहुँमा उनको हत्या गरिएको प्रवक्ता पासवानको भनाई छ।
उनका अनुसार विभिन्न सबुद प्रमाणसहित पाँचै जना पक्राउसमेत परिसकेका छन् ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१३, डंगराहा टोलका २७ वर्षीय सन्तोषकुमार महरा, २८ वर्षीय रोहितकुमार महरा, २१ वर्षीय धर्मेन्द्र महरा, १९ वर्षीय धिरजकुमार राम र २० वर्षीय मोहमद जमसेद छन्।
घटना यसरी भयो
असोज २७ गते नगरपालिकामा दशैं मेला लागेको थियो । त्यो मेला हेर्न महरासहित सबै साथीहरु गएका थिए।
प्रहरीका अनुसार नगरपालिकामा लागेको दुर्गा मेला हेर्न गएका सबैले लागु औषधको सेवन गरिसकेका थिए ।
प्रहरीका अनुसार उनीहरु सबैजनाले गाँजा र नाइट्राभेट ट्याब्लेट सेवन गरेका थिए ।
त्यही बेला कृष्ण महराले आफ्नी गर्ल फ्रेन्डलाई फोनमा कुरा गरेर मेलामा राती नै बोलाउने समय मिलाए ।
‘गर्लफ्रेन्ड’ आउन लागेको अन्य साथीले जानकारी पाएपछि आफूहरु पनि यौन सम्पर्क राख्ने साथीलाई प्रस्ताव गरे । तर त्यो कुरा महराले मान्न तयार भएनन् । त्यसपछि सबैजनाबिच विवाद हुन थालेको प्रहरीले बताएको छ।
उक्त विवादले उग्ररुप लिएपछी कृष्णकी गर्लफ्रेन्ड त्यँहा नआईपुग्दै पाँचजना साथीहरु मिलेर कृष्णको चक्कुले पेट र छात्तीमा प्रहार गरि क्रुर तवरले हत्या गरेका प्रहरीले जनाएको छ।
हत्यापछि घटना लुकाउन सबैजना मिलेर कृष्णको शव नजिकै रहेको गागन खोलाको पश्चिमतर्फ खाल्डो खनेर शरीरको माथिल्लो भाग बालुवाले छोपेर फरार भएका थिए ।
घटनाको सूक्ष्म अनुसन्धान सुरु गरि प्रहरीले रोहित महरालाई पक्राउ गर्यो। उनैले दिएको बयानका आधारमा हत्याको रहस्य र अन्य सहयोगीहरु पक्राउ परेको प्रहरी प्रवक्ता पासवानले बताए।



