कार्तिक १२,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका-९ ज्यामिरेस्थित पूर्व-पश्चिम सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्।
आज बिहान करिब ५:३५ बजेको समयमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ४ ख ५९७७ नम्बरको ट्रकले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा परी घाइते हुनेमा चितवनको रत्ननगर नगरपालिका-३ टाँडी बेल्छी घर बताउने अन्दाजी ७० वर्षीय रामनाथ विश्वकर्मा रहेका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरीबाट ट्राफिकसहितको प्रहरी टोली घट्नास्थलमा पुगेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका विश्वकर्माको टाउको र दुवै हातमा गम्भीर चोट लागेको छ।
घाइतेलाई तत्काल उद्धार गरी मनहरी अस्पताल पुर्याइएको भए पनि अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र चालक रौतहटको चन्द्रपुर नगरपालिका-६ बस्ने अन्दाजी ३७ वर्षीय गणेशबहादुर खपाङ्गीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।



