मंसिर २७,हेटौंडा। `राष्ट्रिय खेलाडी बन्ने होड,उत्पादनमा जोड´ भन्ने मुल नारासहित हेटौंडामा १५ वर्ष मुनिका `८´ए साइड वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।
हेटौंडा–५ स्थित पिप्ले युवा क्लबको आयोजनामा विहिवारबाट प्रतियोगिता सुरु भएको हो । विहिवार एकैदिन ५ खेलहरु सम्पन्न भएका छन्।
पिप्ले क्याम्पा रंगशालामा सुरु प्रतियोगिताको पहिलो खेलमा नागस्वती फुटबल एकेडेमीले विजयी सुरुवात गरेको छ ।
नागस्वतीले हेटौंडा–१८ हर्नामाडीको सिर्जनशील क्लबलाई ३–१ गोलले पराजित गरेको हो। यस्तै दोस्रो खेलमा दिव्या स्पोर्टस एकेडेमीले जित निकालेको छ । पञ्चशील युवा क्लबलाई हराउँदै दिव्या स्पोर्टस एकेडेमीले जित निकालेको हो ।
तेस्रो खेलमा बार्सा हेटौँडाको टिमले जित निकालेको छ । बार्साले ज्ञान ज्योति युवा क्लबलाई ४–१ गोलले हराएको हो। चौथो खेलमा कमाने एकेडेमीको टिम विजयी भएको छ ।
चौघडा स्पोर्टस एकेडेमीलाई ४–१ गोलले हराउँदै कमाने एकेडेमीले जित निकालेको हो । यस्तै पाचौं खेलमा पिप्ले युवा क्लब विजयी भएको छ । शिखर क्लब पालुङलाई १–० गोलले हराउँदै पिप्ले युवा क्लब विजयी भएको हो । पिप्लेको जितमा टिम कप्तान समेत रहेका अरुण सापकोटाले गोल गरेका थिए।
२० टिम सहभागी प्रतियोगितामा भोली शुक्रवार बिहान ९ बजेदेखी ६ खेलहरु हुने आयोजकले जनाएको छ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार ५ सय रुपैयाँ, उत्कृष्ट फरवार्ड, डिफेन्डर, मिडल्फिडर, गोलरक्षक र प्रशिक्षकलाई जनही ३ हजार ५ सय रुपैयाँको नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका लागी हेटौंडा-५ नम्बर वडा कार्यालयले २ लाख ५० हजार बिनियोजन गरेको जनाईएको छ।
क्लबका अध्यक्ष सुविन घिमिरेको सभाध्यक्ष तथा बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललितबहादुर घलान, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला लागायत खेल क्षेत्रमा आवद्ध पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको फाईनल खेल यहि मंसिर ३० गते हुनेछ।



