पुस १२,हेटौंडा। नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सामाजिक सञ्जालमार्फत आफूलाई ‘डाक्टर हुँ’ भन्दै लुटपाट गरेको आरोपमा प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भई ललितपुर महानगरपालिका-१७ ग्वार्को बस्ने ३० वर्षीय आलोक भनिने जितेन्द्र मण्डल पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मण्डलले आफुलाइ डाक्टर दाबी गर्दै ‘सुगर’ रोग निको पार्ने भन्दै मानिसहरुलाई बेहोस बनाउने औषधि सेवन गराई सुनचाँदीका गहना लुटपाट गर्ने गरेको पाइएको छ ।
प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले मण्डलले सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाई आफू डाक्टर हुँ भनी भेटघाट र चिनजान गरी घरमा गई सुगर रोगीको उपचार गर्छु भन्दै औषधि खुवाई बेहोस बनाई कोठाभित्र रहेका सुन तथा चाँदीका गरगहनाहरू (सिक्री, औंठी, झुम्का,टप, मंगलसूत्र) र नगद तीन लाख समेत चोरी गरेको बताए ।
मण्डललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा ललितपुरबाट खटिएको प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ आरूखर्कबाट पक्राउ गरेको हो।
प्रहरीले मण्डलको साथबाट नगद ५९ हजार तीन सय ६० रूपियाँ र विभिन्न ब्रान्डका तीन थान मोबाइल पनि बरामद गरेको छ ।



