पुस १२,चितवन । चितवन राष्ट्रिय निकुञ्जको ‘एन्टिपोचिङ युनिट’ले विहिवार हेटौंडामा हवाई फायर गरि गैंडाको खाग तस्करीमा संलग्न एकजनालाई पक्राउ गरेको छ।
निकुञ्जभित्र वन्यजन्तु तस्करी गिरोहलाई नियन्त्रणमा लिने, पक्राउ गर्ने युनिटलाई ‘एन्टिपोचिङ युनिट’ भनिन्छ।
विश्वकै दुर्लभ एकसिंगे गैंडाको खागको तस्करी गर्ने गिरोहको सुक्ष्म अनुसन्धान गर्ने, आफ्ना विभिन्न संयन्त्रहरू परिचालन गर्ने, ग्राहक बनेर तस्करसम्म पुग्ने लगायतका गतिविधि यो युनिटले अपनाउने निकुञ्ज प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बताए।
यही सिलसिलामा केही दिनअघि तस्करीमा संलग्न एक गिरोहले खाग किन्ने व्यक्तिको खोजी गरिरहेको सूचना युनिटले थाहा पाएपछी ग्राहक बनेर सो युनिट गिरोहको सम्पर्कमा पुगेको थियो।
गिरोहले आफूसँग खाग रहेको भन्दै उपयुक्त स्थानमा मात्रै बिक्री गर्ने बताउँदै रकम बार्गेनिङ गरि बाराको पथलैयाबाट पनि पूर्वतर्फ बोलाएको थियो ।
तर, निकुञ्जको टोलीले धेरै टाढा जान नहुने भन्दै अस्वीकार गरेपछि पथलैयामा नै खागको खरिद/ब्रिकी गर्ने सहमति भएको थियो।
तर ग्राहक बनेर निकुञ्जको टोली पथलैया पुग्दा त्यहाँ गिरोहका कुनै सदस्य सम्पर्कमै आएनन् ।र, पछि पुनः हेटौंडामा भेट्ने र खागको कारोबार गर्ने सहमति भएको थियो।
सोही सहमति अनुसार विहिवार बिहान हेटौंडा उपमहानगरपालिका–८ स्थित गर्दईमा दुई पक्षको भेटघाट भएको हो।
तस्करको टोली अपेक्षा गरेको भन्दा ठूलो समूहमा रहेको र ग्राहक टोली निकुञ्जकै भएको हुनसक्ने देखेपछि तस्करहरू भाग्न खोजेका डा.पन्तको भनाई छ।
सो क्रममा युनिटले पाँच राउण्डसम्म हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको छ। बाँकी सबै फरार भएका र उनीहरूको खोजी कार्य भैरहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जले पक्राउ गरेको व्यक्ति नै निकुञ्जको ग्राहक टोलीसँग निरन्तर सम्पर्कमा बसेका प्रमुख व्यक्ति भएको डा. पन्तले बताए।
उनीहरूले खाग भनेको वस्तु पनि बरामद गरिएको छ।
पन्तका अनुसार उनीहरुलाई निकुञ्ज वरपरकै क्षेत्रमा बोलाएर खाग लिने प्रयास गरे पनि सहमति नभएपछि मध्यविन्दु हेटौंडा खोजिएको हो।
‘उनीहरु पथलैयाभन्दा अझै पूर्वतिर बोलाएर आफूलाई सुरक्षित राख्न खोजिरहेका थिए।’,डा.पन्तले भने।
पक्राउ परेका मुख्य व्यक्तिलाई निकुञ्जको हिरासतमा राखिएको र उनको साथबाट बदामद गरिएको वस्तु खाग हो वा होइन भन्ने विषयमा प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइने पन्तले बताए।



