पुस २७,निजगढ। बाराको निजगढ-७ मा संचालित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाले निजगढमा तोरी पेल्ने मिल संचालन गर्ने भएको छ।
शनिवार सम्पन्न संस्थाको १५ औँ साधारणसभामा अध्यक्ष अम्बिकाप्रसाद चौलागाईंले संस्थाले आफ्नै जग्गामा शुद्ध तोरिको फिल्टर गरिएको तेल उत्पादन गर्न लागेको बताए।

उक्त कार्यका लागी निजगढ-७ मा रहेको संस्थाको जग्गामा भवनको शिलान्यास समेत भैसकेको उनले बताए।
मधेस प्रदेशसभा सदस्य मिना लामाको प्रमुख आतिथ्य तथा अध्यक्ष चौलागाईंको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
कार्यक्रममा अध्यक्ष चौलागाईंले वार्षिक प्रगति प्रतिवेदन,कोषाध्यक्ष अञ्जु नेपालीले आर्थिक प्रतिवेदन,लेखा सुपरिवेक्षण समितिकी संयोजक पार्वती अधिकारीले लेखा प्रतिवेदन तथा व्यवस्थापक रोशन तिमल्सिनाले चालू आवको अनुमानित खर्च विवरण पेश गरेका थिए।
कार्यक्रममा मधेश प्रदेशसभा सदस्य मिना लामा,निजगढ नगर प्रमुख सुरथ पुरी,उपप्रमुख सोममाया थिङ,बारा जिल्ला सम्वनय समितिकी उपसंयोजक चण्डिका सापकोटा उप्रेती,निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुदर्शनप्रसाद कोइराला,निजगढ महिला साकोसकी अध्यक्ष शोभा राउत,सगरमाथा साकोसका अध्यक्ष भोलाप्रसाद गौतम,संस्थाकी संचालक सदस्य उषा लामा मोक्तान लगायतले सभालाई सम्बोधन गरेका थिए।
साधारणसभाको अवसरमा संस्थाले शेयरधनी सदस्यहरुलाई पानी खाने तावाँको भाँडो पनि वितरण गरेको छ।
यसअघि संस्थाले शेयरधनी सदस्यहरुलाई लोडसेडिङको समयमा उज्यालो अभियान कार्यक्रम अन्तर्गत सोलार सेट,गर्मिका लागी स्टेण्ड फ्यान,शीतलहरबाट बच्न ब्ल्यांकेट,प्रत्येक वर्ष लोकप्रिय करेसाबारी कार्यक्रम अन्तर्गत तरकारीका बीउबिजन,प्रत्येक वर्ष कृषक भ्रमण कार्यक्रम तथा चरेसको थाल र करुवा लगायतका सरसामग्रीहरु वितरण गरिसकेको जनाएको छ। संस्थामा कुल ५२५ जना शेयर सदस्य छन्।
यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा वार्षिकरुपमा आँखा शिविर संचालन गर्नुका साथै गम्भीर रोग लागेका शेयरधनीहरुलाई १० हजार रुपैयाँ अनुदान सहयोग र ३ महिनासम्म निर्व्याजी १ लाख रुपैयाँसम्म उपलब्ध गराउने गरेको जानकारी गराईयो।
यसैगरी शेयर सदस्यको मृत्यु भएमा काजकिरिया खर्च बापत १० हजार अनुदानका साथै सुत्केरी शेयर सदस्य र नवजात शिशुलाई आवश्यक पर्ने उपहार पनि प्रदान गर्दै आएको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै ज्येष्ठ सदस्यहरुले ८४ पूजामा दक्षिणासहित १० हजार रुपैयाँ उपलब्ध गराउने र संस्थाले वार्षिकरुपमा नविकरण गर्ने गरि १ लाख ५० हजार रुपैयाँ बराबरको दूर्घटना बीमा पनि गराउँदै आएको प्रतिवेदनमा जनाईएको छ।
कार्यक्रममा उत्कृष्ट बचत सम्मान,बाल बचत सम्मान,उत्कृष्ट कर्मचारी सम्मान,उत्कृष्ट पूर्व कर्मचारी सम्मान,असल ॠणी सम्मान,अधिक मासिक बचतकर्ता सम्मान,पूर्व संचालक सम्मान तथा शिक्षक बचतकर्ता सम्मान अन्तर्गतका विधाहरुमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका उपाध्यक्ष केदारप्रसाद गौतमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण लिलानाथ बञ्जाराले गरेका थिए।




