माघ ३,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ लाई बालमैत्री वडा घोषणा गरिने भएको छ ।

वडाध्यक्ष सुशील घिमिरेले विहिवार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने बताए।

वडामा दुई हजार १६ बालक र एक हजार सात सय ८२ जना बालिका रहेको नगर बाल सहजकर्ता सपना ढुङ्गानाले बताईन् ।
वडामा २४ वटा बालसमूहमा ६ सय बालबालिका आवद्ध रहेका छन् भने सामूदायिक र संस्थागतका साथै बालविकास केन्द्र गरी ९ वटा शैक्षिक संस्था सञ्चालित छ ।

वडाले बालमैत्रीका ५१ ओटा सुचकमा  ४७ सुचक सतप्रतिशत  र ४ वटा सुचकमालागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गरेको उनले बताईन् ।

सम्मेलनमा वडालाई यसअघि नै पूर्ण खोप, पूर्ण साक्षर र खुल्ला दीसामुक्त वडा घोषणा गरिसकिएको जानकारी गराईएको थियो।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधि, २०७९ को मार्गदर्शन अनुसार वडाले बालमैत्रीका लागि पौने २ लाख रुपैयाँ बजेटमा आवश्यक तयारी गरेको बताईएको छ।

यो वडा ६.०७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। घरधुरी सर्वेक्षण २०७९ अनुसार वडामा दुई हजार ८७५ घरधुरी रहेको छ भने कुल जनसंख्या १४ हजार १२७ रहेको छ ।
उपमहानगरपालिकाका १९ मध्ये १५ ओटा वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय