माघ ७,निजगढ। बाराको निजगढ-१० मा जारी तेश्रो ल्होसार कप फुटबल प्रतियोगितामा एभरेष्ट एकेडेमी लालबन्दी सेमिफाइनल प्रवेश गरेको छ भने रिगल हेटौंडा, क्वाटरफाइनलमा प्रवेश गरेको छ।
आइतवार लालस्थित बुद्ध मिनि रंगशालामा भएको दोस्रो खेलमा एभरेष्ट एकेडेमी सर्लाहीले आयोजक योङ्गस्टार युनाइटेड क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो।
अत्यन्तै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयसम्म दुबैटिमबाट गोल नभएपछी ट्राईब्रेकरबाट निर्णय लिनुपरेको थियो। एकेडेमीले योङस्टारलाई ट्राईब्रेकरमा १-४ गोल अन्तरले हरायो।
खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुन सफल एभरेस्ट एकेडेमीका गोलरक्षक अरुण ब्लोनलाई निजगढ-१० र ३ का वडाअध्यक्ष आशाकाजी श्रेष्ठ र गोकुल तिमल्सिनाले नगद तथा ट्रफि हस्तान्तरण गरेका थिए।
यस्तै आईतवार भएको पहिलो खेलमा रिगल हेटौंडा, मकवानपुरले निजगढ युवा क्लबलाई ०-२ गोल अन्तरले हरायो। रिगलको जीतमा जर्सी नं १४ का सुबराज गोले र जर्सी नं १२का सुजन खत्रीले एक-एक गोल गरे।
खेलको ‘म्यान अफ द म्याच’ सुजन खत्री घोषित भए। उनलाई मकवानपुरको बकैया गाउँपालिका-२ का वडाअध्यक्ष विश्वराज स्याङ्गतान र निजगढ १० का वडासदस्य मेघराज वाईवाले नगद तथा ट्रफि हस्तान्तरण गरे।
प्रतियोगिता अन्तर्गत सोमबार पनि क्वार्टरफाईनल चरणको दुई खेल संचालन हुनेछ। पहिलो खेल वीरगंज युनाइटेड र बकैया-६ मकवानपुर बीच हुनेछ भने दोस्रो खेल आयोजक टिम योङ्गस्टार युनाइटेड ‘बि’ र बेङ्ग्खाडि महोत्तरी बीच हुने आयोजकले जनाएको छ।
योङस्टार युनाइटेड क्लब, निजगढ–१०, लाल, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय र उपविजेताले १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
कुल १४ टिम सहभागी प्रतियोगिताको फाइनल खेल माघ १२ गते हुने तय गरिएको छ।



