माघ ९,हेटौंडा। मकवानपुर प्रहरीले एक नाल अवैध भरुवा बन्दुकसहित एक शिकारीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ-१ गडुवानका ५२ वर्षिय जीतबहादुर थिङ छन्।
थिङलाई प्रहरीले मंगलवार साँझ मनहरी- ९ स्थित हरियाली सामुदायिक वनबाट अवैध भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार थिङले भरुवा बन्दुक काँधमा बोकि हिँडिरेहेको भन्ने सूचनाका आधारमा फेला पारी नियन्त्रणमा लिएको हो।
प्रहरीले उनको साथबाट बन्दुकसहित फलामको बिभिन्न साईजको गोलाकार बेरिङ १३ थान, फलामको जस्तो देखिने बिभिन्न साईजको लाम्चो आकारको वस्तु ३३ थान, बारुद जस्तो देखिने पाउडर ३०५ ग्राम, ढुंगाको छर्रा जस्तो देखिने वस्तु २४ थान र खुकुरी १ थान बरामद गरेको छ।
थिङलाई हातहतियार तथा खरखजना सम्बन्धी कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।



