माघ ९,निजगढ। वीरगंज युनाइटेड बाराको निजगढ-१० मा जारी तेश्रो ल्होसारकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ।
बुधवार लालस्थित बुद्ध मिनि रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा वीरगंजले एभरेष्ट एकेडेमी,सर्लाहीलाई १-२ गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो।
वीरगंजका लागी विवेक चौधरी र बिक्रम लामाले १/१ गोल गरे भने एभरेष्टको तर्फबाट आकाश थापा मगरले एक मात्र गोल फर्काएका थिए ।
वीरगंजका ‘म्यान अफ द म्याच’ घोषित हुन सफल बिक्रम लामालाई निजगढ- १३ का वडाअध्यक्ष सूर्य घलान र योङस्टार युनाइटेड क्लबका पूर्व अध्यक्ष सिद्धार्थ लोप्चनले नगदसहित ट्रफी हस्तान्तरण गरे।
बिहीबार बेङ्गखाडी युवा क्लब,महोत्तरी र रतनपुर युनाइटेड क्लब,निजगढबीच अन्तिम सेमिफाइनल खेल हुनेछ।
योङस्टार युनाइटेड क्लब, निजगढ–१०, लालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय २ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
फाइनल खेल माघ १२ गते हुने आयोजक समितिका सल्लाहकार कुमार मोक्तानले जानकारी दिए।



