माघ१३,निजगढ। तेश्रो ल्होसारकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि रतनपुर युनाइटेड निजगढ-११ ले हात पारेको छ ।
शनिवार लालस्थित बुद्ध मिनि रंगशालामा सम्पन्न फाइनल खेलमा रतनपुरले वीरगंज युनाइटेड क्लबलाई ४–२ गोल अन्तरले हराउँदै उपाधिमा कब्जा जमाएको हो।
रतनपुरका लागि समिर तामाङ र आनन्द गुरोले समान दुई–दुई गोल गरे । वीरगंजका लागि भने सागर चौधरी र बिक्रम लामाले १/१गोल गरे। दोश्रो संस्करणको उपाधी पनि रतनपुर युनाइटेडले नै चुमेको थियो।
विजेता रतनपुरले उपाधिसहित नगद २ लाख २ हजार २ सय २ रुपैयाँ हात पार्यो भने उपविजेता वीरगंजले १ लाख १ हजार १ सय १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
विजेता / उपविजेता टोलिलाई कार्यक्रमका प्रमुख अतिथि रहेका अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दावा लामा र निजगढ नगर प्रमुख सुरथ पुरी लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए।
कार्यक्रममा प्रतियोगिताका लागी नगद तथा जिन्सी सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
रतनपुरका समिर तामाङ खेलको म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद २ हजार र ट्रफी हात पारे । उनी १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका निजगढ-८ का स्थानीय खेलाडी हुन्।
विधागततर्फ उत्कृष्ट गोलरक्षक रतनपुरका अभिषेक चौधरी बने भने सर्वाधिक गोलकर्ताको पुरस्कार समान ४–४ गोल गरेका वीरगंजका सागर चौधरी र रतनपुरका आनन्द गुरोले संयुक्त रुपमा हात पारे । उत्कृष्ट बनेका सबैले ५–५ हजारको दरले पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक योङस्टार युनाइटेड क्लबका सुदिप मोक्तान घोषित भए । त्यसवापत उनले नगद १० हजार र ट्रफी प्राप्त गरे भने उदियमान खेलाडी पनि योङस्टार कै पाल्देन लामा बने । उनले त्यसवापत साइकल हात पारे ।
योङस्टार युनाइटेड क्लब, निजगढ–१०, लालले आयोजना गरेको प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो।



