माघ १६,हेटौंडा। १६औं संस्करणको बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार २०८१ वरिष्ठ कलाकार नीर शाहलाई प्रदान गरिएको छ ।
भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले मंगलवार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी कलाकार शाहलाई नगद पुरस्कार राशीसहित सम्मान गरेको हो । प्रतिष्ठानले नेपाली गीतसंगीत र कलाको क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै शाहलाई नगद एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको छ ।
नेपाली चलचित्र क्षेत्रका सफल निर्देशक,निर्माता,लेखक तथा गीतकार शाहले विगत पाँच दशकदेखि निरन्तररुपमा आधुनिक र चलचित्र गीति लेखनका साथै चलचित्र क्षेत्रमा अभिनयद्धारा समेत योगदान पुर्याउदै आएका छन् ।
नारायण गोपालले गाएका पर्खि बसें, पे्रमको माला, कहिलेकाँही म हाँस्छु, आँखैमा कसैको तस्विर बसेछ तथा हिँउ भन्दा चिसो,बादल बनाई देउ, गहिराईमा डुब्दै नडुब,यो साँझ यो सुवास,तिमिसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल लगायतका दर्जनौं हिट गीतहरु उनै नीर शाहले लेखेका हुन भने शाहले ३ सय भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरीसकेका छन्।
हेटौंडाका उद्यमी व्यवसायी श्री कन्हैयाकृष्ण श्रेष्ठले ममतामयी आमा बिजुलीमाया व:न श्रेष्ठको नाममा २०६४ सालमा अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार स्थापना गरेका थिए ।
यस पुरस्कारबाट अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ, न्हुच्छेबहादुर डङ्गोल, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जङ्गम,किरण प्रधान र राजेन्द्र थापाजस्ता सर्जकहरु सम्मानित भैसकेका छन्।
भीम विरागको १०१औं जन्मजयन्तीको अवसरमा आयोजीत कार्यक्रम प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षता तथा गीतकार नगेन्द्र थापाको प्रमुख आतिथ्यमा भएको थियो ।
साहित्यकार एलबी क्षेत्री लगायतका साहित्यानुरागीहरुको उपस्थितीमा भएको सम्मान कार्यक्रममा विभिन्न कलाकारहरुले नीर शाहद्धारा रचित गीतहरु गाएर समारोहलाई जीवन्त बनाउने प्रयास गरेका थिए।



