माघ१९,हेटौंडा। हेटौंडास्थित नेवारी समुदायको ईहि यज्ञ गुठीले ५३ औँ सुवर्णकुमार बेलविवाह कार्यक्रम माघ २० र २१ गते गर्ने भएको छ।
यसवर्ष ७२ जना कन्याहरुको सामुहिक बेलविवाह गरिने गुठीका अध्यक्ष हरिश्चन्द्र श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए।
काठमाडौ उपत्यका बाहिरको पहिलो ईहि यज्ञ अर्थात बेलविवाह हेटौंडामा मात्र हुने भएकाले २०४२ साल ताका २०८ जनासम्म कन्याको बेलविवाह गरिएको गुठीले स्मरण गरेको छ।
त्यससमय पूर्वमा बिराटनगरदेखि वीरगंजहुँदै पश्चिममा धनगढीसम्मका नेवारी समुदायका मानिसहरु बेलविवाहका लागी हेटौंडा आउने गरेका गुठियार शंकरलाल श्रेष्ठले बताए।
अहिले भने उपत्यका बाहिरका विभिन्न स्थानमा उक्त कार्यक्रम हुने भएकाले हेटौंडामा आउनेको संख्या घटेको हो।
२० जना गुठियारहरु मध्येबाट यसपालि हेटौंडा-१० निवासी शंकरलाल श्रेष्ठको व्यवस्थापनमा कार्यक्रम हुने पालो परेको छ।
गुठीको नियमानुसार गुठियारहरुले प्रत्येक वर्ष पालैपालो कार्यक्रम गर्नुपर्ने चलन रहेको छ। गुठीले न्युनतम शुल्क लिएर बेलविवाह कार्यक्रम गर्ने हुँदा परिवारलाई आर्थिक भार कम हुने अध्यक्ष श्रेष्ठले बताए।
संस्कृति र परम्पराको संरक्षण गर्न भन्दै स्व. बिकुलाल तौजले र स्व.प्रेमलाल श्रेष्ठले २०२९ सालमा हेटौंडामा ईहि यज्ञ कार्यक्रमको शुरुवात गरेका हुन्।
गुठिले प्रत्येक वर्षको वशन्तपञ्चमीमा हेटौंडा-१० बसपार्क स्थित आफ्नै भवनमा सामुहिक बेलविवाह कार्यक्रम गर्दै आएको छ।
नेवारी समुदायामा बेलविवाहको महत्व
नेवारी समुदायमा बेलविवाहले विशेष महत्व राख्दछ।यस समुदायका बालिकाहरुको रजश्वला हुनुपूर्व नै बेलसँग विवाह गर्ने पौराणिक प्रचलन रहेको छ।
नेपालमा १२औँ देखि १८ औँ शताब्दीको बिचमा रहेको मल्लकालिन सभ्यतामा रजश्वलापूर्व नै चेलीहरुको विवाह नगरिदिए दाजुभाई वा बाबुलाई ब्रह्माहत्या गरेझैँ पाप लाग्ने धार्मिक विश्वास रहिआएको थियो।
पछि यो बेथिति भएको ठहर गरेपछी परम्परा र संस्कृति जगेर्ना गर्न भनेर विकल्पका रुपमा बालिकाहरुको बेलसँग विवाह गर्ने प्रचलन चलिआएको विश्वास गरिन्छ।
पौराणिक पद्धति अनुसार विधिपूर्वक पूजा गर्नुपर्ने भएकाले नेवारी समुदायकै ७ पुजारीहरु ब्राह्मण,ब्राह्मणी,कर्माचार्य,जोशी,सेवाचार्य,प्रजापती र नापित जातीका पुजारीहरुद्वारा पूजा गर्नुपर्ने विशेष प्रचलन रहेको छ।
बेल कहिले नकुहिने फल भएकाले वेलसँग विवाह गर्दा नेवारी चेलीहरुले कहिले सिंदुर पुछ्नु नपर्ने र विधवाको रुप धारण गर्नुनपर्ने किंवदन्ती छ।



