माघ २१,हेटौंडा । हेटौंडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव तथा प्रथम अधिवेशन हुने भएको छ । देशभरका युवायुवती, किशोर किशोरी एवम् हेटौंडा उपमहानगरपालिका भित्रका विद्यालय तहका बालबालिकाको सहभागितामा आगामीे फागुन ९ र १० गते उत्सव हुने आयोजक नवसर्जक साहित्य चौतारी नेपालले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

उत्सव मार्फत् वागमती प्रदेशको विगतदेखिको पहिचानलाई थप नयाँ उचाइमा पुर्याई नवसर्जकहरु उत्पादन गर्ने,  हेटौंडालाई साहित्यिक पर्यटनको केन्द्र बनाउने तथा पठन र लेखन संस्कृतिको विकास गर्ने प्रमुख उद्देश्य रहेको आयोजक संस्थाका संस्थापक दीपक गौतमले जानकारी दिए।

उत्सवको पहिलो दिन ९ गते मुक्तक, गजल, लोकलयका कविता, गद्य कविता, कथा, नाटक, निबन्ध लेखन र चित्रकला लगायत विभिन्न ८ विधामा सिर्जनात्मक लेखन कार्यशाला हुने र दोस्रो दिन १० गते बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल प्रतियोेगिता तथा रचना वाचन कार्यक्रम हुने गौतमले बताए।

हेटौंडा उपमहानगरपालिका,४ नम्बर वडा कार्यालय तथा भुटनदेवी माध्यमिक विद्यालयको मुख्य आर्थिक व्यवस्थापनमा सम्पन्न हुने उत्सवमा नवसर्जकहरुलाई विभिन्न विधामा सम्मान र पुरस्कार वितरण समेत गरिनेछ । राष्ट्रव्यापी नवसर्जक गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजार र ७ प्रदेशका ७ नवसर्जक प्रतिभाहरुलाई ७ हजार ७ सय ७७ रुपैँया राशीको सम्मान तथा एकजना अग्रज बालसाहित्य सर्जक वा अभियन्तालाई १५ हजार ५ सय ५५ रुपैँया नगद राशीले सम्मान गरीने बताइएको छ ।

संस्थाले यसअघि २०७७ जेठ २८ गते पहिलो राष्ट्रिय बालउत्सवको आयोजना गरेको थियो । हेटौंडामा केन्द्रिय कार्यालय रहेको यस संस्थाले स्थापनाको ४ वर्षमा १ सय ५० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बालकवि गोष्ठिको आयोजना गरिसकेको छ । यस्तै संस्थाले हालसम्म दजनौं नवसर्जकहरुलाई प्रादेशिक र राष्ट्रिय पुरस्कार दिलाउनुंका साथै दर्जनबढी नवसर्जकहरुको कृति पनि प्रकाशन गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाअध्यक्ष नवीन सिग्देल, संस्थाका केन्द्रीय सल्लाहकार तथा पुरस्कार संस्थापक रमेशमोहन अधिकारी, विष्णु न्यौपाने , अर्चना दाहाल, संस्थाकी उपाध्यक्ष कृतिका लडौरी लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय