माघ३०,हेटौंडा।भोली फागुन १ गते हेटौंडा उपमहानगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरु बन्द हुने भएका छन् ।

उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा कार्यक्रमको आयोजना गर्न लागिएकाले उपमहानगर भित्रका सम्पूर्ण निजी तथा सामुदायिक शैक्षिक संस्थाहरु बन्द हुने भएको हो।

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै ‘फागुन १ गते बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा कार्यक्रम हुने हुँदा सम्पूर्ण निकायका कर्मचारी कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले एक दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द रहने’ जनाएको छ।

उपमहानगरपालिकाले सबै निजि तथा सामुदायिक विद्यालयलाई विद्यालय बन्द गरेर कार्यक्रममा सहभागी हुन परिपत्र समेत गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।

त्यस्तै उपमहानगरपालिकाले शैक्षिक संस्थासहित वडा कार्यालय र स्वास्थ्य संस्थालगायत सबै निकायका सेवा सुचारु नहुने पनि जनाएको छ ।

उपमहानगरपालिकाका सबै १९ वटै वडाहरु ५१ सूचक पूरा गर्दै बालमैत्री वडा घोषणा भइसकेका छन् ।

कार्यान्वयन निर्देशिकामा उल्लेख ५ वटा कार्यान्वयनका चरणहरु, २८ वटा तहगत खुड्किलाहरु पार गर्दै ५१ वटा सूचक पुरा गरी निकृष्ट बालश्रम मुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा समारोहको चरणमा पुगेको नगर प्रमुख मीनाकुमारी लामाको भनाई छ ।

उपमहानगरपालिकाले साढे दुई वर्षदेखि १९ वडामै सहजकर्ताहरु खटाएर सुचक पुरा गर्ने अभियानमा लागेको र घरधुरी तथ्यांक सर्वेक्षण २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ५० हजार १ सय ९५ रहेको जनाएको छ ।

जसमा २६ हजार १ सय ४५ बालक र २४ हजार ५० बालिका रहेको र नगरका कुल बालबालिकाको संख्यालाई आधार मान्दा ५२.०८ प्रतिशत बालक र ४७.९१ प्रतिशत बालिका रहेको तथ्याङ्कले देखाएको बताईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय