फागुन२,हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा जारी खेलकुद महोत्सव– २०८१ को उद्धाटन भएको छ । गत माघ ९ गते बाट सुरु भएको खेल महोत्सवलाई आज शुक्रबार हेटौंडा–४ स्थित हुप्र चौरमा बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले उद्धाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले विद्यालय तहबाटै विद्यार्थीहरुमा खेल भावनाको विकास गराउन सकेमा भावी दिनमा राष्ट्रिय खेलाडी उत्पादन गर्न सकिने धारणा राखे। विद्यालय स्तरबाट बालबालिकामा खेल अभ्यास गराउनुु आजको आवश्यक्ता भएको उनको भनाई थियो ।

त्यस्तै वडाअध्यक्ष नवीन सिग्देलले भौतिक संरचना मात्रै नभै शिक्षा र खेलकुदको माध्यमबाट विद्यार्थीको शारीरिक, बौद्धिक विकास गराउनु पनि विकासको अर्को रुप भएको बताए ।
उद्धाटन पश्चात् वडा नम्बर–४ मा रहेका विद्यालयहरुले शिक्षक विद्यार्थी सम्मिलित वृहत र्याली निकालेको थियो । र्यालीमा सत्यम जेभिर्यस माध्यमिक विद्यालय, श्रमिक माध्यमिक विद्यालय, आधुनिक राष्ट्रिय मावि, रोज ऐकेडेमी इङ्गिलस स्कुल, र भुटनदेवी माविका विद्यार्थी शिक्षकहरुको सहभागिता थियो।
महोत्सवमा वडाका विद्यालयहरुले विभिन्न खेल व्यवस्थापन गरेका छन् । जसमा आधुनिक माविले भलिबल प्रतियोगिता, भुटनदेवी माविले क्रिकेट प्रतियोगिता, नवोदय शिशु सदनले बास्केटबल प्रतियोगिताको व्यवस्थापन गरेको छ । खेल व्यवस्थापन गर्ने विद्यालयहरुलाई वडाले सम्बन्धित खेल सामग्रीसमेत हस्तान्तरण गरेको छ।
महोत्सव अन्तर्गत शुक्रवार सय मिटर र २ सय मिटर दौड, रिले दौड, लङजम्प लगायतका खेलहरु भएकाछन् ।
उद्घाटन कार्यक्रममा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ का अध्यक्ष श्रीराम दाहाल, वडा–५ का वडाअध्यक्ष शुशिल घिमिरे, वडा–१० का वडाअध्यक्ष फूर्वादोर्जे लामा लगायतको उपस्थिति थियो ।




