फागुन २ कलैया। बाराको कलैया उपमहानगरपालिका-१ मा संचालित सुधार केन्द्रभित्र एक जना युवकको कुटपिटबाट हत्या भएको छ।
शुक्रवार विहान कलैयाको भवानिपुरमा संचालित नवजन्म सुधार केन्द्रमा कलैया-९ रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको हत्या भएको हो।
केन्द्रमा रहेका मानिसहरूसँग विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।
उनी पछिल्लो १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए।
राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो।
त्यहाँ जाँच गर्नेक्रममा चिकित्सकले मृत घोषणा गरेका डिएसपी सापकोटाले बताए।
मृतकको बाहिरी शरीरमा कुनै चोटपटक नदेखिएकोले पोष्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारणबारे प्रष्ट हुने सापकोटाको भनाई छ।
सिसिटिभी फुटेज हेर्दा केन्द्रभित्र विवाद र कुटपिट भएको देखिएको उनले बताए।
प्रहरीले अहिले सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा कलैयाका सरफराज मन्सुरी, निरज सरार्फ, महमद आशु मिँया शेख, अरूण सरार्फ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता छन्।



