फागुन४,निजगढ। बाराको निजगढ नगरपालिका-१० स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय,लालमा चोरी भएको छ।
विद्यालय प्रशासनको ताल्चा फुटाई डस्टर,मार्कर लगायतका केही शैक्षिक सामग्री र क्यान्टिनबाट विद्यार्थीहरुलाई दिवा खाजा बनाउन राखिएको १८ पोका खाने तेल चोरी भएको विद्यालयका प्रधानाध्यापक दिनानाथ साहले जानकारी दिए।

प्रअ साहका अनुसार चोरहरुले विद्यालयको चौर देखिने गरि बरण्डामा राखिएको दुईवटा सिसिटिभी क्यामेरा फुटाउनुका साथै कार्यालय भित्र रहेको सिसिटिभीको मनिटर पनि झ्यालबाट बाहिर फालेका छन्।
विद्यालयमा आइतवार बिहान ७ बजे कोचिङ शुरु हुनु अघि ईन्टरनेट र सिसि क्यामाराको तार काटिएको देखेपछि प्रशासन शाखामा हेर्दा ताल्चा फोडेको देखिएकाले तत्काल वडा अध्यक्ष र प्रहरीलाई आफुले खबर गरेको साहले बताए।
विद्यार्थीहरुको एसईई तयारी कक्षा चलिरहेको हुँदा शनिवार दिउँसो २ बजेसम्म आफुहरु विद्यालयमै रहेकोले राती नै चोरी भएको हुनसक्ने प्रअ साहले समाचार क्लबसँगको कुराकानीमा बताए।
घटनासम्बन्धमा अहिले ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक अमित कुशवाहाको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ।
घटनामा संलग्न रहेको आशंकामा विद्यालयका २ जना विद्यार्थीहरुलाई अहिले सोधपुछ गरिरहेको प्रअ साहले बताए।




