फागुन५,हेटौंडा। मकवानपुरको झुरझुरेमा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत सोमवार भएको खेलमा चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ।
वागमती-४ स्थित शहीद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४ का विरुद्व ५ गोल अन्तरले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा टुँगिएपछी निर्णयका लागी खेल टाइब्रेकरमा धकेलिएको थियो ।
चर्च व्वाइज वागमती गोल्डकपमा नयाँ टोलि हो । उसका लागि विदेशि खेलाडीहरु अर्मान विडम,अनयोमी र अन्य खेलाडीहरु सुमित श्रेष्ठ, दिपेश गुरुङ र सुजल डंगोलले गोल गरे ।
यस्तै आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पीजंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्रसिं थापाले रोके ।
खेलको ‘म्यान अफ द म्याच’ गोलरक्षक थापा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणीन्द्र तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी लगायतले ट्रफी र नगद प्रदान गरे ।
आगामी फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।




