फागुन५,हेटौंडा।निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा फागुन ६ अर्थात भोलि देखि शुरुहुने दोश्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव-२०८१को तयारी अन्तिम चरणमा पुगेको छ।

संघले सोमवार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।
महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने भएका छन्।

मंगलवार विहान साँढे १० बजे हेटौंडा-४ स्थित हुप्रचौरको दक्षिण गेटबाट शोभायात्रा निकाली पारिजातपथ,बुद्धचोक हुँदै महोत्सवस्थल टिसिएन चौर पुगेर उद्घाटन कार्यक्रम गरिने आयोजक संस्थाका अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिएका छन्।

कंडेलका अनुसार उद्घाटन समारोहलाई विशेष बनाउन पहिलो दिन सबैका लागी निशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

महोत्सवमा करिव ३ सय ओटा स्टल हुनेछन्। जसमा धार्मिक,स्वास्थ्य,रेडक्रस लगायता गैरसरकारी संघसंस्थालाई १० ओटा स्टल निशुल्क प्रदान गरिने कंडेलले बताए।

जुत्ताचप्पल,कपडा लगायत फेन्सी आईटमका २ सय र होटलको लागी १८ ओटा स्टल रहने महोत्सवमा नेपालमै दोश्रोपटक हुन लागेको फिस टनेलको पनि प्रदर्शनी हुने आयोजकले जनाएको छ।

त्यस्तै निर्माण सामग्रीका स्टलहरु ३४ ओटा,घरेलु उद्योगका १५ ओटा,महिला उद्यमीका १० ओटा,कृषि उपजका लागी १० ओटा र नविनतम निर्माण उपकरण तथा सामग्रीका लागी पनि १० ओटा नै स्टल हुनेछन्।

महोत्सवमा नविनतम निर्माण उपकरण तथा सामग्रीहरुको बृहत प्रदर्शनी र विक्री,बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन प्रदर्शनी एवं विक्री,स्थानिय तथा औद्योगिक उत्पादनको प्रदर्शनी एवं विक्री,सूचना प्रविधि तथा कृषि उत्पादनको प्रदर्शनी,घरेलु तथा हस्तकला सामग्रीको प्रदर्शनी एवं विक्री,महिला उद्यमीहरुद्वारा उत्पादित सामग्रीहरुको विक्री,शैक्षिक, घरजग्गा,अटो,खाना तथा वस्तु र सेवाको प्रदर्शनी एवं विक्री,बाल उद्यान,नविनतम लञ्च भएका ईभी सवारीको प्रदर्शनी एवं विक्रीका साथै स्थानिय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम महोत्सवको प्रमुख आकर्षणको रुपमा रहेको जनाईएको छ।

यो सँगै महोत्सवको दोश्रो दिन ७ गतेदेखी हरेकदिन गायन रियालिटी शो हेटौंडा आईडल प्रतियोगिता र स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम रहने छ।

हेटौंडा आईडलका लागी पहिलो चरणमा १६ जना प्रतियोगी छनौट भएका पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।
महोत्सव आगामी फागुन १८ गतेसम्म १२ दिन चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय