फागुन६,हेटौंडा। हेटौंडाबाट प्रहरीको संरक्षणमा भगाईएको अवैध गोरु बोकेको ट्रकलाई पशु कार्यालय हेटौंडाले नियन्त्रणमा लिएको छ।
अवैधरुपमा निकासी भैरहेको गोरु लोड भएको एउटा ट्रक पशु सेवा कार्यालय हेटौंडाले आईतवार राती बाराको पथलैयाबाट नियन्त्रणमा लिएको हो।
कार्यालयका प्रमुख ब्रजकिशोर ठाकुरले २५ ओटा गोरु लोड भएको उक्त ट्रक हेटौंडाको रातोमाटे चेकपोष्टबाट २ जना प्रहरीको स्कर्टिङमा भगाईएको बताए।
बा प्र३ ००१-ख १४२४ नम्बरको गोरु लोड भएको उक्त ट्रक कार्यालयले आईतवार राती ११ बजे पथलैयाबाट नियन्त्रणमा लिई हेटौंडा ल्याएको हो।
कार्यालय प्रमुख ठाकुरका अनुसार आईतवार साँझ ६ बजे अनुगमनका क्रममा निस्केका उनले रातोमाटे प्रहरी चेकपोष्ट नजिकै ट्रक रोकिराखेको देखेपछी शंका लागी हेर्दा मापदण्डविपरीत गोरुहरु लोड भएको पाईएको थियो।
तर उक्त गोरुसहितको ट्रकलाई रोक्न प्रहरीलाई अनुरोध गर्दागर्दै आफ्नै अँखा अगाडीबाट ५ मिनेटभित्रै प्रहरीकै संरक्षणमा भागेको उनले बताए।
उनका अनुसार त्यहाँ ड्युटीमा खटिएका प्रहरीका सैसाप र जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वराज खड्कालाई पटक पटक फोन गरि रोक्न अनुरोध गर्दा पनि उक्त ट्रक प्रहरीकै संरक्षणमा भागेको हो।
त्यसपछि रातोमाटे भन्दा केही दक्षिण तर्फ नयाँवस्ती भन्ने ठाउँमा रहेको १४ नम्बर हेडक्वार्टर सशस्त्र प्रहरी बलको अस्थायी चेकपोष्टमा बसेका सशस्त्र प्रहरीलाई घटनाको बारे बताएपछि भने सशस्त्र प्रहरीकै समन्वयमा उक्त ट्रक पथलैयामा ड्युटीमा रहेका एकजना प्रहरी निरीक्षकले रोकेका हुन्।
ठाकुरले १४ नम्बर हेडक्वार्टर सशस्त्र प्रहरी प्रमुख एसपी सन्तोष साहले ट्रक रोक्न सहयोग गरेको भन्दै उनलाई सल्युट गर्नुपर्ने पनि बताए।
पथलैयामा ट्रक रोकिएपछि पशु कार्यालयका प्रमुख ठाकुर हेटौंडाबाट २ जना संचारकर्मीको सहयाता लिएर राती नै त्यहाँ पुगेका थिए। ट्रकका चालक र ट्रकमा रहेका अन्य दुईजना चरुवा भने फरार रहेका छन्।
ट्रकमा फेला परेको कागजपत्रमा ढुवानी मापदण्ड विपरीत ओभरलोड भएको,पशुहाट बजार सेवा शुल्क हेटौंडा ११ ले काटेको बिलमा आवश्यक भन्दा कम राज्श्व तिरेको भेटिएको र उक्त गोरुहरु मासु प्रयोजनका निम्ति तेस्रो मुलुक लान लागेको पाईएको उनको भनाई छ।
कृषि प्रयोजनका लागि भेटेनरी प्रमाणपत्र लिएर ढुवानी गर्न पाईने भएपनी ट्रकमा लोड भएको गोरुहरुको अवस्था हेर्दा मासु प्रयोजनकै लागी बंगलादेश लान लागिएको उनले बताए।
प्रती गाई,गोरु २ सयको दरले २५ ओटा गोरुको ५ हजार तिर्नुपर्नेमा बिलमा ३ हजारको मात्रै बिल काटिएको भेट्नुले पनि कैफियत रहेको उनको भनाई छ।
भेटेनरी डा.टिकाराम न्यौपानेले पशुमा संक्रामक रोग नरहेको पुष्टि गरेको विवरणको कागजात भेटिएको छ भने कागजमा उक्त गोरु तनहुँ आँबुखैरेनीका भीम राईले हेटौंडा-१६ शाखा ७ नम्बर मकवानपुरको नाममा झापास्थित हेमादेवी सप्लायर्सलाई पठाईएको बेहोराको फर्जी चलानी कागज भेटिएको छ।
यस्तै ट्रकमा फेला परेको ब्कुबुकमा हेटौंडा-११ का शिव भण्डारीको नाम उल्लेख छ।
नियन्त्रणमा लिईएको ट्रकसहितको गोरुलाई जिल्ला प्रशासन कार्यालय र सरकारी निकायसँगको समन्वयमा आवश्यक प्रक्रिया अघि बढाईने ठाकुरले बताए।
यता प्रहरीको सेटिङमा ट्रक भगाईएको विषयमा जिल्ला प्रहरी कार्यालयले सोधपुछ र बुझ्नेकाम भैरहेको भन्ने जवाफ दिएको छ।



