फागुन७,हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको एन्टार्टिक बिस्कुट प्रालिले कामबाट निकालेको भन्दै श्रमिकहरु आन्दोलित भएका छन्।  उद्योगले तमसुक पत्रमा हस्ताक्षर नगरेको भन्दै ९७ जना श्रमिकको रोजगारी कायम नगर्ने सूचना जारी गरेपछि उनिहरु आन्दोलित भएका हुन् ।

फागुन १ गतेबाट शान्तिपूर्ण आन्दोलन गरिए पनि कुनै सुनुवाई नभएपछि बुधवार श्रम शोषणविरुद्व विरोध तथा खबरदारी सभा आयोजना गरिएको थियो । गत माघ १४ गते उद्योगले सूचना प्रकाशित गर्दै ९७ जना श्रमिकको रोजगारी कायम नगर्ने जनाएको थियो ।

पटक–पटक ध्यानाकर्षण गराउँदा पनि जारी गरिएको सूचना फिर्ता नगरेपछि श्रमिक आन्दोलनमा उत्रन बाध्य भएको जिफन्ट बागमती प्रदेश कमिटीका अध्यक्ष रामहरि नेपालले जानकारी दिए । व्यवस्थापन पक्षले गैरकानुनी तवरले अनुचित श्रम अभ्यास गरेको श्रमिकहरुको आरोप छ ।

५ वर्ष सेवा गरिसकेका मजदुरलाई गैरकानुनी सम्झौता गरेर उद्योग प्रशासनले नयाँ सम्झौताका नाममा परीक्षण अवधिमा निष्काशन गर्ने योजना बनाएकोे अध्यक्ष नेपालले बताए।

समग्र उद्योग ट्रेड यूनियन नेपालका केन्द्रीय अध्यक्ष आनन्द थामी, नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, उपाध्यक्ष अर्जुन अर्याल लगायतको उपस्थितिमा बसेको बैठकले विरोध कार्यक्रमलाई यथावत राख्दै फागुन ७ गते(आज) मजदुरहरूको तर्फबाट व्यापक विरोध गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय