फागुन१०,हेटौंडा। मच्छिन्द्र फुटबल क्लब मकवानपुरको वागमती गाउँपालिकामा जारी सातौं संस्करणको वागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिवार वागमती-४ झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई१-३ गोल अन्तरले हराउँदै साविक विजेतासमेत रहेको मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

मच्छिन्द्रको जीतमा शिशिर लेकिले खेलको ४२ औं मिनेटमा, समिराज थोकरले दोस्रो हाफको छैठौं मिनेटमा र विदेशी खेलाडी स्टेफेनले दोस्रो हाफको ४३ औं मिनेटमा गोल गरे ।
थ्री स्टारका लागि विदेशी खेलाडी एलेक्स विलियम्सले खेलको पहिलो हाफको ३७ औं मिनेटमा सुरुवाती अग्रता बनाएपनी टिमलाई हारबाट जोगाउन भने सकेनन् ।
खेलको ‘म्यान अफ द म्याच’ मच्छिन्द्रका देवेन्द्र तामाङ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
चौथो संस्करणको विजेता रहेको थ्री स्टार प्रतियोगिताबाट बाहिरिएको छ । विजेता मच्छिन्द्रले उपाधीका लागि १२ गते सोमवार चर्च र्ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
यसअघि शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि एपीएफलाई२-३ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ ।
उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही २५-२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।




