फागुन१२,हेटौंडा। मकवानपुर प्रहरीले ४३ ग्राम अवैध सुनसहित १ बस चालकलाई नियन्त्रणमा लिएको छ।
बाराको कोल्हवी नगरपालिका-५ घर भएका बस चालक ३३ वर्षिय जसजोशी चौधरीलाई ४३.३८ ग्राम अवैध सुनसहित आईतवार विहान साँढे १० बजे रातोमाटे चेकपोष्टबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उक्त सुनको मूल्य आजको बजार भाउ अनुसार ६ लाख ३५ हजार २ सय २६ रुपैयाँ हुन आउँछ।
डिएसपी अर्यालका अनुसार हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा उक्त सुनसहित चौधरी पक्राउ परेका हुन्।
चौधरी कोल्हवीबाट नारायणघाटतर्फ जान आउँदै गरेको ना ५ ख ५१२९ नम्बरको यात्रुवाहक बसका चालक हुन्।
चेकजाँच गर्ने क्रममा चालक चौधरीलाई शंका लागी बसबाट ओराली रितपुर्वक खानतलासी गर्ने क्रममा निजको साथबाट अवैध सुन फेला पारिएको डिएसपी अर्यालले बताए।
चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको छ।



