फागुन१६,हेटौंडा।मकवानपुरको ईन्द्रसरोवरमा खोर्सानीको धूलो छर्की लुटपाट गर्ने प्रयास गर्ने अपरिचित व्यक्ती भनिएका भ्लोन दम्पतीकै छोरा भरथकुमार भ्लोन भएको खुलेको छ।
प्रतिकारमा गम्भीर घाईते भएका उनको उपचारकै क्रममा ज्यान समेत गएको छ।
३९ वर्षिय भरथको चितवनस्थित सरकारी अस्पतालमा उपचारकै क्रममा शुक्रवार दिउँसो पौने २ बजे चिकित्सकले मृत घोषणा गरेका मकवानपुर प्रहरीले जनाएको छ।
यता वादप्रतिवादका क्रममा घाईते भएका भरथका बुवा मिनबहादुर भ्लोन र आमा देविमाया भ्लोनलाई पनि थप उपचारका लागी दिउँसो पैने १ बजे काठमाडौ रिफर गरिएको छ।
उनीहरुको हेटौंडा अस्पतालमा उपचार भैरहेको थियो।मिनबहादुरको करङ भाँचिएको र देविमायाको हात र आँखा नजिकै चोट लागेको प्रहरीले जनाएको छ।
घटना यस्तो थियो
मकवानपुर प्रहरीले दिएको जानकारी अनुसार विहिवार राती ८ बजे मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३का ६३वर्षिय मिनबहादुर भ्लोन र उनकी श्रीमती बर्ष६४ की देवीमाया भ्लोन खाना खाईरहेको बेला मास्क लगाएका एक युवा अचानक घरभित्र छिर्छन्।
३५/४० वर्षका जस्तो देखिने ती अपरिचित व्यक्तिले भ्लोन दम्पतीको आँखामा खोर्सानीको धूलो छर्की चोरी गर्न लाग्छ्न्।
त्यसैबखत भ्लोन दम्पतीले भान्सामा रहेको घरेलु सामानले प्रतिवाद गर्दा उक्त ब्यक्तिको टाउको, मुख र शरिरका बिभिन्न भागमा चोट लागी गम्भिर घाइते हुन पुग्छन् ।
सो क्रममा भ्लोन दम्पती पनि घाईते हुन्छ्न्। प्रतिवाद गर्दा मिनबहादुरको हात, मुख र टाउकोमा तथा देविमायाको हात र आँखा नजिक चोट लाग्छ।
उक्त घटना बारे थाहा पाएपछी प्रहरी चौकी सिस्नेरीबाट पुगेका प्रहरी टोलीले तिनै जना घाईतेलाई उपचारका लागी हेटौडा अस्पताल ल्याउँछन् ।
चोरी गर्न आएका भनिएका अपरिचित व्यक्तिलाई शुक्रवार विहान पौने २ बजे थप उपचारका लागी चितवनस्थित सरकारी अस्पताल रिफर गरिन्छ।
अपरिचित भनिएका ती व्यक्ति उनै भ्लोन दम्पतीका छोरा भएको खुल्छ। घरबाहिर फेला परेको झोलामा भेटिएको राहदानीबाट ती व्यक्ती भ्लोन दम्पतीकै छोरा भरथकुमार भ्लोन भएको खुलेको प्रहरीले जानकारी दिएको छ।
प्रतिवादका क्रममा भरथको खप्पर फुटेको र टाउकोमा रगत जमेको प्रहरीले जनाएको छ।
यता हेटौडा अस्पतालमा उपचार गराईरहेका भ्लोन दम्पतीलाई थप उपचारका लागी उनिहरुकी छोरी साँईली भ्लोनले काठमाडौ लगेका प्रहरीले जनाएको छ।



