फागुन १७,हेटौंडा।भीम विराग संगीत साहित्य कला प्रतिष्ठानले आज फागुन १७ गते शनिवार ४ वटा फरक विधाका सर्जकहरुलाई पुरस्कृत गर्ने भएको छ।
प्रतिष्ठानले भीम विराग राष्ट्रिय साहित्य पुरस्कार-२०८१ बाट साहित्यकार माया ठकुरी,संगीत पुरस्करबाट गायक हेमन्त शर्मा,कला पुरस्कारबाट कलाकार भोलाराज सापकोटा र पत्रकारीता पुरस्कारबाट पत्रकार एवं साहित्यकार ठाकुर बेल्वासेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

प्रत्येक पुरस्कारको राशी जनही २५ हजार रुपैयाँको रहेको छ।
प्रतिष्ठानले भीम विराग सक्रिय रहेका साहित्य,संगीत,कला र पत्रकारिता क्षेत्रलाई समेटेर गत साल अर्थात २०८० सालमा यी ४ पुरस्कारको स्थापना गरेको हो।
यसअघि देखि नै प्रतिष्ठानले विभिन्न पुरस्कार समर्पण गर्दै आएपनी भीम विरागकै नाममा पुरस्कार स्थापना नभएकाले उपमहानगरको समन्वयमा उनको नाममा ४ पुरस्कार स्थापना गरिएको प्रतिष्ठानका महासचिव छवि अनित्यले जानकारी दिए।
यी सबै पुरस्कार राशीका लागी हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ।
साथै भाषा,कला,संगीत तथा विभिन्न सामाजिक क्षेत्रमा क्रियाशील ७ जना व्यक्तित्वहरुलाई पनि आजै पुरस्कार तथा सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।
मुक्तिगोविन्द वैद्यले स्थापना गरेका १५ हजार रुपैयाँ राशीको तुलसीमाया-शिवकुमारी सृजनशिल नारी पुरस्कार-२०८१ बाट महिला उद्यमी शोभा श्रेष्ठलाई,विन्दुगोपाल गोर्खालीले स्थापना गरेका १० हजार रुपैयाँ राशीको भीम-मथुरा बाल प्रतिभा पुरस्कारबाट मेधावी छात्रा रितिका छत्कुलीलाई,आशिष् श्रेष्ठले स्थापना गरेका १५ हजार रुपैयाँ राशीको शिला नारी पुरस्कारबाट महिला उद्यमी मेनका श्रेष्ठलाई ,चुनु बानियाँले स्थापना गरेका २० हजार रुपैयाँ राशीको रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मालाई,रामबहादुर पाख्रीनले स्थापना गरेका १५ हजार रुपैयाँ राशीको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट साहित्यकार दीपक गौतमलाई,देवप्रसाद श्रेष्ठ र दीपकप्रसाद श्रेष्ठले संयुक्तरूपमा स्थापना गरेका १० हजार रुपैयाँ राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी निर्मला ब्लोनलाई र रोशन सेन गुप्ताले स्थापना गरेका १० हजार रुपैयाँ राशीको अजित-सेन कमलेश्वरी गुप्ता भिन्न क्षमता पुरस्कारबाट दृष्टिविहीन मेकानिक सुदर्शन ढकाललाई सम्मान गरिने भएको छ।
प्रतिष्ठानले अघिल्लो महिना विजुलीमाया व:न श्रेष्ठ अन्तरास्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई सम्मान गरिसकेको छ।
प्रतिष्ठानले आज अपरान्ह साँढे ४ बजे हेटौंडा-४ स्थित हेटौंडा इभेन्ट म्यानेजमेन्टमा विशेष समारोह आयोजना गरि यी पुरस्कार तथा सम्मान प्रदान गरिने जानकारी दिएको छ।
सो अवसरमा प्रतिष्ठानको कोष वृद्धि गर्ने अभिप्रायले गायक हेमन्त शर्मा र कुलेन्द्र विश्वकर्माको सांगीतिक कार्यक्रम पनि आयोजना गर्ने भएको छ।




