फागुन२२,निजगढ। जिल्ला प्रहरी कार्यालय बाराले एक महिनाको अवधीमा तीन करोड ५८ लाख ४० हजार ६ सय ५९ रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ।
कार्यालयले गत माघ १८ देखि यहि फागुन २० गतेसम्म ३० दिनको कार्यसम्पादन प्रगति विवरण सार्वजनिक गर्दै उक्त रकम भन्सारबाट राजश्व संकलन गरेको जनाएको हो।

विवरण अनुसार कार्यालयले सो अवधीमा ५२ जना फरार प्रतिवादीलाई पक्राउ गरि उनिहरुबाट १३ लाख ८६ हजार ८ सय रुपैयाँ जरिवाना पनि असुलेको छ।
पक्राउ परेका प्रतिवादीहरु कर्तव्य ज्यान मुद्दाका १ जना,सवारी ज्यान मुद्दाका ७ जना, लागूऔषध मुद्दाका १७ जना, साइबर अपराध मुद्दाका १ जना र अभद्र ब्यवहार मुद्दाका १७ जना छन्।
यस्ता छन् प्रहरीले सार्वजनिक गरेको अन्य विवरण:
बारा प्रहरीले एक महिनाको अवधीमा ३ जना भारतीय पुरुष र महिलासहित ५ जना नेपाली नागरिक गरि ८४ जनालाई विभिन्न कसुरमा पक्राउ गरि कार्वाही गरेको जनाएको छ।
लागूऔषध नियन्त्रण तथा कार्वाही:
प्रहरीले लागूऔषध नियन्त्रण तथा कार्वाहीका क्रममा ३२०.३०९ किलोग्राम गाँजा,२९.४५१ किलोग्राम अफिम र १७०.४ मिलिग्राम खैरो हिरोईन बरामद गरेको छ भने
४ जना भारतीय र २२ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै प्रहरीले सोअवधीमा स्रोत नखुलेको ३ लाख २ हजार ५६५ रुपैयाँ हुण्डी रकमसहित १ जना भारतीय नागरिकलाई पनि पक्राउ गरेको जनाएको छ।
उजुरी उपर कार्वाही:
जिल्ला प्रहरी कार्यालय बारामा एक महिनाको अवधीमा १४० ओटा उजुरी परेको मध्ये८६ ओटाको फर्छ्यौट भएको र ५४ ओटा उजुरीको फर्छ्यौट हुन बाँकी रहेको तथा घाउ जाँच केश फारम गर्न ११ ओटा निवेदन परेको छ।
महिला,बालबालिका एवं जेष्ठ नागरिक सेवा:
प्रहरीले सो अवधीमा महिला तथा बालबालिका एवं जेष्ठ नागरिक सेवा केन्द्र अन्तर्गतको सेवा प्रवाह गरेको पनि जनाएको छ।
जसअन्तर्गत १३ जना महिला हराएको सूचना आएकोमा ४ जना फेला पारेको र १८ जना बालबालिका हराएकोमा ७ जना फेला पारेको जनाएको छ।
महिला तथा घरेलु हिंसा:
कार्यालयमा महिला हिंसा सम्बन्धी ८३ ओटा र
घरेलु हिंसा सम्बन्धि ७७ ओटा उजुरी परेकोमा महिला हिंसाका ४० र घरेलु हिंसाका ३५ उजुरी फर्छ्यौट भएको छ।
सामुदायिक कार्यक्रम:
प्रहरीले समुदायिक कार्यक्रम अन्तर्गत साइवर अपराध सम्बन्धी ५ ओटा, सवारी दुर्घटना न्युनिकरण सम्बन्धी- १४ वटा, महिला हिंसा न्युनिकरण सम्बन्धी- ७ वटा,विद्यालयमा अनुशिक्षण कार्यक्रम – १४ वटा,नागरिक सुनुवाइ कर्यक्रम – २ वटा,अल्प संख्यकसँग प्रहरी कार्यक्रम एउटा गरि कुल सयवटा जनचेतनामूलक कार्यक्रम गरेको जनाएको छ।
यस्तै अनुचित लेनदेन तथा अनुसन्धानमा प्राप्त ३ वटा उजुरी मध्ये २ वटाको फर्छ्यौट भएको छ।
सूचना संकलन:
सूचना संकलन अन्तर्गत १३ थान हराएको मोवाइल फेला पारी मोवाइल धनीलाइ बुझाईएको पनि कार्यालयले जनाएको छ।
ट्राफिक व्यवस्थापन तथा कार्वाही:
ट्राफिक व्यवस्थापन तथा कारवाही अन्तर्गत
माघ महिनामा २३ सय ६२ जनालाई कार्वाही गरि १९ लाख ८५ हजार ५ सय र फागुन महिनामा १२ सय ६६ जनालाई कार्वाही गरि १० लाख ५५ हजार राजश्व संकलन गरेको जनाएको छ।
लागूऔषध नष्ट:
यस्तै कार्यालयले ९ बिगाहा १ कट्ठा ५ धुरमा लगाईएको १ लाख ८१ हजार ओटा गाँजाको र १ कट्ठा १० धुरमा लगाईएको २० हजार अफिमको बोट नष्ट गरेको जनाएको छ।
घरेलु मदिरा नष्ट:
प्रहरीले एक महिनाको अवधीमा अवैध घरेलु मदिरा बनाउने भट्टि १२ वटा,तयारी मदिरा ३२ सय ५५ लिटर र कच्चा मदिरा ८ हजार ३ सय लिटर नष्ट गरेको जनाएको छ।
अवैध कुखुरा र चल्ला नष्ट:
यस्तै भारततर्फबाट अवैधरुपमा नेपाल भित्र्याईएको २९ हजार ७ सय रुपैयाँ मूल्य बराबरको ३३ वटा कुखुराको चल्ला,२ लाख ५० हजार मूल्य बराबरको १२ सय किलोग्राम वयस्क ब्रोईलर कुखुरा र १ लाख ५० हजार मूल्य बराबरको २ सय वटा चल्ला पनि बरामद गरि नष्ट गरेको बारा प्रहरीले जनाएको छ।
काठ बरामद:
यस्तै एक महिनाको अवधिमा ९० हजार मूल्य बराबरको काठ पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।




